पर्वत – सरकारले आजदेखि कोरोनाविरुद्धको खोप अभियान शुरु गर्दै छ । सोही अनुसार पर्वतमा पनि आजदेखि पहिलो चरणको खोप अभियान शुरु हुँदै छ । पर्वतमा सोमबार खोप प्राप्त भएसँगै आज पहिलो चरणको कोरोना खोप कार्यक्रम शुरु गर्न लागिएको हो ।
स्वास्थ्य कार्यालय पर्वतका अनुसार पर्वतमा आज माघ १८ गते सम्म सञ्चालन हुने पहिलोचरणको अभियान अन्तर्गत जिल्ला भरका स्वास्थ्य संस्थामा कार्यरत १ हजार २ सय ३१ स्वास्थ्यकर्मी र कर्मचारीलाई खोप लगाउने तयारी गरिएको छ भने कोभिड १९ को संक्रमणबाट मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनका लागि खटिएका ४ जना नेपाली सेनाका सुरक्षाकर्मीहरुलाई पनि खोप दिने भएको छ ।
खोप अभियान अन्तर्गत पर्वतमा १ हजार ३ सय ८० डोज कोभिशिल्ड खोप पर्वतमा भित्रिएको छ । जसमध्ये २१ जना चिकित्सक, ५ सय ९४ जना विभिन्न तहका स्वास्थ्यकर्मी, ५ सय १ जना महिला स्वास्थ्य स्वयंसेविका र १ सय १५ जना सरसफाईकर्मी तथा स्वास्थ्य संस्थाका सहयोगी कर्मचारीहरुलाई खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा.भोजराज गौतमले जानकारी दिनुभयो ।
पर्वतमा खोप दिनका लागि आवश्यक स्वास्थ्यकर्मीहरुलाई तालिम समेत प्रदान गरिएको छ । विभिन्न स्थानीय तहमा सञ्चालन भएका स्वास्थ्यकर्मीहरुलाई खोप लगाउन पर्वत अस्पताल र स्वास्थ्य कार्यालयमा उपस्थित हुन खबर गरिसकिएको पर्वत अस्पताल प्रमुख डाक्टर शिशिर देवकोटाले बताउनुभयो । नेपाल सरकारको लक्ष्य अनुसार खोप लगाउन चुनौतीपूणर् देखिएको बताउँदै स्वास्थ्यकर्मीहरुलाई सर्वसाधरण समक्ष सकरात्मक सन्देश प्रवाह गर्नका लागि भएपनि अनिवार्य उपस्थित हुन अनुरोध गरिएको उहाँले बताउनुभयो ।
माघ १४ गते विहान साढे ९ बजेदेखि पर्वतमा खोप अभियान सञ्चालन हुँदैछ ।
पहिलो खोप पर्वत अस्पतालका डाक्टर शिशिर देवकोटा र स्वास्थ्य कार्यालय प्रमुख भोजराज गौतमले लगाएर शुरुवात गर्ने तयारी भइरहेको छ । आज कुश्मा नगरपालिका अन्तर्गतका लक्षित क्षेत्रका १ सय ३३ जनालाई खोप दिइँदैछ । विभिन्न स्थानीय तहबाट आउने स्वास्थ्यकर्मीहरुलाई खोप अभियानमा सहभागी हुन सहज वातावरण सिर्जना गर्न प्रमुख जिल्ला अधिकारी मार्फत स्थानीय तहमा जानकारी समेत पठाइसकिएको छ । अभियानमा कुनै पनि स्वास्थ्यकर्मीहरु नछुटुन् भन्ने अभिप्रायले स्थानीय तह सँग सहकार्य भइरहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो ।
मंगलबार आयोजित छलफल कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मनोहर वि. पौडेलले खोप लगाइसकेका व्यक्तिलाई केही दिन सम्म स्वास्थ्य सतर्कता गराउन फलोअप गर्नुपर्ने धारणा राख्नुभयो ।