पर्वत उद्योग बाणिज्य संघको ३८ औँ साधारण सभा सम्पन्न, स्थिरता नभएसम्म समृद्धि आउँदैन ः गोल्छा - News site from Nepal

पर्वत-  नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको समृद्धिका लागि स्थिरता र स्थायित्व हुनुपर्ने बताएका छन् । पर्वत उद्योग बाणिज्य संघको ३८ औँ साधारण सभा तथा १७ औँ अधिवेशनको बुधवार उद्घाटन गर्दै अध्यक्ष गोल्छाले मुलुकमा स्थिर सरकार, राजनीतिक स्थिरता र स्थायित्व काम भएमा मात्र समृद्धिको वातावरण बन्ने बताए ।
मुलुकमा आर्थिक विकासका थुप्रै सुचकहरुको प्रचुर सम्भावना रहेपनि लगानीको अभाव रहेको बताउँदै अध्यक्ष गोल्छाले अस्थिरताका कारण लगानीको वातावरण बन्न नसकेको बताए । जवसम्म मुलुकको राजनीतिले स्थायित्वको मार्ग पक्डदैन, जवसम्म दलहरु मुलुकको समृद्धिका लागि एकजुट हुन सक्दैनन् तबसम्म उद्योग, कलकारखानामा लगानी गर्न कोहिपनि तयार नहुने उनको भनाई रहेको छ । उनले उद्योग बाणिज्य महासंघले ५२ वटा आर्थिक विकास सम्वन्धि योजनाहरु समेटेर भिजन पेपर तयार गर्न थालेको बताउँदै त्यसलाई राष्ट्रिय मार्गचित्रको रुपमा अघि बढाउने बताए ।
उक्त भिजन पेपर कार्यान्वयनका लागि सरकाले आवश्यक सहयोग गर्नुपर्ने उनको भनाई रहेको छ । राजनीतिक उतारचढावका कारण देशमा लगानीमैत्री वातावरण बन्न नसकेको गोल्छाको भनाई छ । उद्योगी व्यवसायीहरुलाई सरकार र राजनीतिक तहबाट प्रोत्साहन हुन नसकेको बताउँदै गोल्छाले निजी क्षेत्र जहिले पनि उपेक्षामा परेको गुनासो गर्नुभयो । कोभिडको प्रभावबाट व्यावसायमा परेको प्रभावलाई कम गर्न र देशको आर्थिक स्थिती सुधारका लागि उद्योग बाणिज्य महासंघले भिजन पेपर तयार पार्न थालेको उहाँले जानकारी दिनुभयो । दोहोरो अंकमा आर्थिक बृद्धि गर्न, बेरोजगार यूवालाई देशमै रोजगारी दिन, लगानीमैत्री वातावरण बनाउन र उद्योग प्रबर्दन गर्न लगायत ५२ वटा विभिन्न खाले कार्ययोजना समेटेर भिजन पेपर तयार पार्न थालिएको गोल्छाले अवगत गराउनुभयो । भिजन पेपर तयार पारेपछि आर्थिक विकासको मार्गचित्र आउने उहाँले स्पष्ट पार्नुभयो ।
उनले मुलुकमा दोहोरो अंकको आर्थिक बृद्धिको योजना सहित उद्योग बाणिज्य महासंघ अघि बढेको बताउँदै सोहि अनुसार सरकारले सहयोग गर्नुपर्ने धारणा राखे । गोल्छाले राज्य उद्योगी, व्यावसायिको निम्त उदार बन्नुपर्ने बताए । उनले व्यावसायिहरुको सुरक्षाका लागि राज्य गम्भीर बन्नुपर्ने बताए । राज्यले लगानीको सुनिश्चितता गर्ने, लगानी कर्ताहरुलाई प्रवद्र्धन गर्ने र उनिहरुको सुरक्षाको ग्यारेण्टि लिनुपर्ने उनको भनाई छ । पछिल्ला केहि वर्ष यता आर्थिक विकासका सुचकहरु सकारात्मक देखिँदै गएको भएपनि फेरी अस्थिरता निम्तिने हो कि भन्ने खतरा बढेकोले उद्योगी व्यावासायिहरुलाई निराश बनाएको बताए । उनले सम्पुणर् उद्योगी, व्यावसायीहरु एकजुट हुनुको विकल्प भने नरहेको बताए । उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मुलुकका उद्योगी, ब्यावसायिहरुको सुरक्षाका लागि महासंघ निरन्तर सक्रिय रहेको बताउनुभयो । निजि क्षेत्रनै मुलुकको समृद्धिको प्रमुख साझेदार रहेको बताउँदै राज्यले जिम्मेवारी लिने हो भने लगानीको अभाव नहुने बताए । उद्योग, पर्यटन, कृषि क्षेत्रको लगानीवाटनै मुलुक समृद्ध बन्न सक्ने उनको भनाई रहेको छ । जिल्ला समन्वय समिति पर्वतका अध्यक्ष मनोहर बी पौडेलले मुलुकको आर्थिक समृद्धिका लागि तीन खम्बे अर्थनीतिलाई अवलम्वन गर्नुपर्ने बताउनुभयो । उहाँले सरकार र निजि क्षेत्रको साझेदारीमा संचालित आयोजनाहरुनै दिगो हुने बताउनुभयो ।
कार्यक्रममा फलेवास नगरपालिका प्रमुख पदमपाणी शर्मा, पैयँज गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछाने, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, नेपाली काँग्रेसका जिल्ला सचिव विश्वप्रकाश प्रसाई , नेपाल पत्रकार महासंघका अध्यक्ष छविलाल तिवारी , ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर घिमिरे लगायतले बोल्नुभएको थियो ।
उक्त कार्यक्रममा बन्जिजम्प सञ्चालन गर्ने द क्लिप प्राली, यान्त्रिक पुल सञ्चालक समितिका अध्यक्ष होमनारायण श्रेष्ठ, नमूना ट्राउट माछा फर्म सञ्चालक यामप्रसाद शर्मालाई सम्मान गरिएको छ । यस्तै कोरोना संक्रमणको बेला उपभोक्तालाई सहज रुपमा सेवा प्रदान गर्ने सुरेन्द्र किराना स्टोर्सका सञ्चालक लक्ष्मीप्रसाद अधिकारी, पुलिङ क्वारेण्टाईन सञ्चालनमा सहयोग गर्ने व्लु एन्जल होटल, बन्दना होटल, माउण्टेन भ्यू होटल र खाना व्यवस्थापन गर्ने यूनिभर्सल पार्टी प्यालेस , रोटरी क्लव अफ पर्वतका अध्यक्ष रमेश शर्मा पौडेल लाई सम्मानपत्रले सम्मान गरिएको थियो । कोरोनाका कारण ज्यान गुमाएका व्यवसायी बालकृष्ण पुरी, जुना क्षेत्री र विरामी भई मृत्यु भएका भगवती पौडेलका परिवारलाई राहात रकम वितरण गरिएको थियो ।
सो अवसरमा वर्तमान कार्यसमितिले तीन वर्षको अवधिमा गरेका कामहरु समेटिएको स्मारिका महासंघका अध्यक्ष गोल्छा र पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले बिमोचन समेत गरेका थिए । उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्माको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन महासचिव गणेश शर्मा लामिछाने तथा धन्यवाद मन्तव्य गोपि अधिकारीले व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!