पर्वत- ः गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री तथा नेकपाका नेता विकास लम्सालले आगामी वैशाखमा जुनसुकै हालता पनि चुनाव हुने बताउनुभएको छ ।
पर्वतका पाङमा रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पार्वती गुफाको पूर्वाधार निर्माणको शिल्यास गर्दै मन्त्री लम्सालले बहुमत प्राप्त प्रधानमन्त्रीले नयाँ जनादेशका लागि आगामी वैशाखमा मध्यावधि चुनाव घोषणा गर्नुभएको भन्दै निर्वाचन कुनै पनि अवस्थामा नरोकिने बताउनुभयो । मुलुकको विकास र समृद्धिका थुप्रै कामहरु बाँकी रहेकाले तीनिहरुलाई पूरा गर्नपनि निर्वाचनको विकल्प नभएको बताउनुभयो । उहाँले पार्टीभित्रैका केहि तत्वहरुले मुलुकमा अराजकता निम्त्याउन खोजेको बताउँदै जनादेशमा जान डराउनेहरुको अब भविष्य नभएको बताउनुभयो । उहाँले वैशाखमा हुने निर्वाचनवाट विकासवादी, काम गर्न सक्ने जुझारु नेतृत्वलाई मत दिएर जिताउनु समेत आग्रह गर्नुभयो ।
अर्को प्रसंगमा मन्त्री लम्सालले पर्यटनको विकासवाट मुलुकको समृद्धि सम्भव भएको बताउनुभएको छ । उहाँले मुलुकमा बढिभन्दा बढि बाह्य पर्यटक भित्र्याउने गरी संघ र प्रदेश सरकारले तयारी गरेपनि कोभिड-१९ का कारण प्रभावित भएको बताउनुभयो । उहाँले अब कोभीड-१९ को संक्रमण कम हुँदै गएको र खोप पनि आइसकेकाले विस्तारै पर्यटनले फड्को मार्दै जाने बताउनुभयो । मन्त्री लम्सालले पर्यटन भित्र्याउनका लागि धार्मिक एवम् पर्यटकीय स्थलको ऐतिहासिक विशेषता जोडिएको कथालाई बेच्न सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले पाङ्ग, खुर्कोट संस्कृति एवम् धार्मिक पर्यटनका लागि महत्वपुणर् स्थल भएको बताउँदै त्यसका लागि सवैले मिलेरे नयाँ योजनाका साथ अघि बढ्नुपर्ने बताउनुभयो । पार्वतीले भगवान शिवलाई पति पाउँ भनि ब्रत बसेको स्थल र भगवान शिव र पार्वतीको क्रिडास्थलको रुपमा समेत परिचित उक्त ठाउँका पर्याप्त भौतिक पूर्वाधारको विकास र प्रचारप्रसारका लागि प्रदेश सरकारले सँधै सहयोग गर्ने उहाँको भनाई रहेको छ ।
गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको रु २५ लाख सहयोगमा प्रवेशद्धारा लगायतका पूर्वाधार निर्माण शुरु गरिएको हो ।
उहाँले प्रदेश सरकार उक्त क्षेत्रको विकासका लागि सवै सहयोग गर्न तयार रहेको बताउँदै नयाँ योजना लिएर आएमा आफुले सवै सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि पौडेलले पार्वती गुफा जस्ता ऐतिहासिक र धार्मिक स्थलहरुको पर्याप्त प्रचार प्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकहरुको ओईरो लाग्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछानेले पाङ-खुर्कोट क्षेत्र र यहाँका धार्मिक तथा ऐतिहासिक क्षेत्रको विकासका लागि कुश्मा नगरपालिका सँधै सहयोग र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. १ का अध्यक्ष देवेन्द्र सुवेदी, वडा नं. २ का अध्यक्ष यदुनाथ बास्तोला, नेकपा कुश्मा नगरकमिटि अध्यक्ष शंकर गिरी, कुश्मा नगरपालिकाका लेखा प्रमुख कमलराज पौडेल, जग्गा दाताको तर्फवाट गौरबदास वैरागी र स्यामप्रसाद पौडेल, गुप्तेश्वर धार्मिक एवम् पर्यटकीय संस्थाका अध्यक्ष पृथ्वीनारायण शर्मा लगायतले बोल्नुभएको थियो । गुफा संरक्षण समितिका अध्यक्ष छविलाल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष भक्तिविलास सुवेदी र संचालन जग्गा प्राप्ति समितिका सचिब प्रेपप्रसाद शर्मा रेग्मीले गर्नुभएको थियो ।
सो अवसरमा गुफाका लागि आवश्यक जग्गा दान गर्ने १९ जना जग्गादातालाई सम्मान गरिएको थियो भने स्थानीले भजनकृतन समेत गरेका थिए ।