बागलुङको पैयुँपाटामा नगर अस्पताल उद्घाटन - News site from Nepal
बागलुङको पैयुँपाटामा नगर अस्पताल उद्घाटन

पर्वत – बागलुङ नगरपालिका १३ पैयुँपाटामा नगर अस्पतालको उद्घाटन गरिएको छ । साविकको पैयुँपाटा स्वास्थ्यचौकीलाई नगर अस्पतालको रुपमा स्तरबृद्धि गरि आज नगर अस्पतालको रुपमा उद्घाटन गरिएको हो ।
नगरप्रमुख जनकराज पौडेलले नगर अस्पतालको उद्घाटन गर्नुभयो । तत्कालका लागि पुराना संरचनामा अस्पताल सञ्चालन भएपनि अबको एक वर्षमा सुविधासम्पन्न अर्को भवन निर्माण र जनशक्ति थप गरि अस्पताललाई थप स्तरबृद्धि गरिने भएको छ । नगर अस्पताल निर्माणका लागि ९ रोपनी जग्गा स्थानीय मार्फत व्यवस्थापन भएको छ । अस्पतालको भवन बनाउन १८ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।
एक स्थानीय तह एक अस्पताल निर्माण गर्ने सरकारको घोषित नीतिलाई कार्यान्वयन गर्दै पैयुँपाटामा नगर अस्पताल स्थापना गरिएको नगरप्रमुख पौडेलले बताउनुभयो । नगरप्रमुख पौडेलले बलेवा शहरको रुपमा विकास हुँदै गएको अवस्थामा अस्पताल बनेपछि एउटा खुड्किलो थपिएको बताउनुभयो । अस्पतालमा ३ जना मेडिकल अधिकृत सहित २७ जना विभिन्न तहका स्वास्थ्यकर्मीहरु रहने जनाईएको छ । हाल यहाँ सिनियर अहेव, हेल्थ असिस्टेण्ट, अनमी, ल्याव र कार्यालय सहयोगी गरि ८ जना कर्मचारी कार्यरत छन् ।
यो अस्पतालबाट बागलुङ नगरपालिका वडा नम्बर १३ पैयुँपाटा, वडा नम्बर १४ नारायणस्थान र वडा नम्बर १२ अमलाचौरका २७ हजार जनसंख्या लाभान्वित हुने पैयुँपाटाका वडाध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिनुभयो । सरकारको सहयोग संगै देशविदेशमा रहेका गाउँलेहरुले अस्पताल निर्माणका लागि आर्थिक सहयोग गर्न थालेको पौडेलले जानकारी दिनुभयो । नजिकै सुविधासम्पन्न अस्पताल नहुँदा यहाँका नागरिक सदरमुकाम बागलुङ, पर्वतको कुश्मा तथा पोखरा सम्म जानुपर्ने बाध्यता छ । नगर अस्पताल बने संगै गाउँमा स्वास्थ्य सेवा पाईने अपेक्षा रहेको स्थानीय पदमबहादुर केसीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!