मन्त्री बाट न्यानो कपडा पाएपछि फलामखानीका जेष्ठनागरिक खुसी - News site from Nepal

पर्वत
पर्वतको महाशिला गाउँपालिका वडा नं. ६ फलामखानीका दलित परिवारका जेष्ठनागरिक तथा विपन्नहरुलाई न्यानो कपडा वितरण गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश र सूर्य नेपाल प्रा.लि. सेराटार तनहुँको सहयोग तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशको समन्वय र ६ नं. वडा कार्यलयको व्यवस्थापनमा आईतबार फलामखानीका करिब दुई सय जना दलित परिवारका जेष्ठनागरिक तथा विपन्नहरुलाई चिसो बाट बच्न न्यानो कपडा प्रदान गरिएको हो । जेष्ठनागरिक तथा विपन्नहरुलाई जाकेट, सुईटर, व्ल्यांकेट लगाएतका न्यानो कपडा प्रदान गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेश सरकार विपन्न परिवारको आर्थीक स्तर उकास्न सधै अग्रसर रहेको बताउनुभयो । उत्पादकत्व र उत्पादन वृद्धि गर्ने रोजगारी सिर्जना गर्ने तथा अतिविपन्नहरुको आर्थिक अवस्था बलियो बनाउने गरि सरकारले काम गरिरहेको बताउनुभयो । जनप्रतिनिधि आफ्नो जनता प्रति सधैँ उत्तरदायी र जिम्मेवार रहने भन्दै मन्त्री लम्सालले सरकार गरिब तथा विपन्न परिवारको सधैं साथमा रहेको बताउनुभयो ।
मन्त्री लम्सालले यहाँको फलामखानीको उत्खन्न गर्न अध्ययन कार्य भईरहेको बताउनुभयो । उहाँले यहाँको कृषि उत्पादकत्व वृद्धि तथा कृषि उपजको बजारीकरणलाई व्यवस्थीत गर्न आफु सधैं गम्भिर रहेको बताउनुभयो ।
जेष्ठनागरिक तथा विपन्नहरुलाई न्यानो कपडा प्रदान गरेकोमा सहयोगीलाई धन्यवाद ज्ञापन गर्दै  महाशिला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद पौडेलले अतिविपन्न परिवारको दैनिक स्तरलाई सहज बनाउन तथा आर्थीक स्तरलाई मजबुत बनाउन गाउँपालिकाले व्यवसायीक एव्म सिपमुलक तालिम प्रदान गर्दै आएको बताउनुभयो । उहाँले कृषि उत्पादकत्व वृद्धि गर्दै यहाँका नागरिकहरुको जिवनलाई सहज बनाउन कृषकहरुलाई गाउँपालिकाले आर्थीक सहयोग समेत गरेको बताउनुभयो ।
उद्योग, वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिव बहादुर कोईरालाले जेष्ठनागरिक तथा विपन्न परिवारलाई चिसो बाट जोगिन न्यानो कपडाले थोरै भएतापनि मलमको काम गर्ने बताउनुभयो । उहाँले आर्थिक, शैक्षिक, स्वास्थ्य तथा सामाजिक दृष्टिकोणले निकै पछाडि परेका समुदायका नागरिकलाई आफुहरुले आर्थीक तथा भौतिक सहयोग गर्दै आएको बताउनुभयो । उहाँले फलमखानी वासीले उत्पादन गरेको कृषि उपजको बिक्री वितरणको लागि पोखरामा निःशुल्क सटरको व्यवस्था गरिदिने प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।
न्यानो कपडा पाएसँगै दलित परिवारका जेष्ठनागरिक तथा विपन्न परिवारका सदस्यहरु खुसी भएका छन् ।
महाशिला गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष राम बहादुर सुनारको स्वागत मन्तव्यमा सञ्चालन भएको न्यानो कपडा वितरण कार्यक्रममा उद्योग, वाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष मोती प्रसाद पौडेल, सदस्य एव्म पर्यटन व्यवसायी सूर्य भुजेल लगाएतले बोल्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!