गैर आवासिय नेपाली संघद्धारा पर्वत रेडक्रसलाई एम्बुलेन्स, अस्पतालवाट तीन लाखका सामाग्री प्रदान - News site from Nepal

पर्वत –  गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय परिषद र अन्तराष्ट्रिय पर्वत समाजले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतलाई एम्बुलेन्स सहयोग गरेका छन् ।
पर्वत रेडक्रसमा हाल दुई ओटा एम्बुलेन्स रहेकोमा एउटा एम्बुलेन्स निकै पुरानो भएर बर्षौँ पहिलेदेखि थन्किएर बसेको छ भने चालु अवस्थामा रहेको एउटा एम्बुलेन्स पनि पुरानो भएको छ । बिरामी ओसारपोसार गर्नुपर्ने आकस्मिक अवस्थामा समेत चालु अवस्थामा रहेको एम्बुलेन्स पटक–पटक ग्यारेजमा रहने अवस्था रहेको थियो ।
यही समस्याको समाधानको लागि रेडक्रसलाई एम्बुलेन्स किन्नको लागि रकम हस्तान्तरण गरिएको एनआरएनएका आईसीसी सदस्य तथा एनआरएनए स्वीडेनका पूर्व अध्यक्ष अर्जुनकुरमार श्रेष्ठले बताए । ‘गाउँमा होस वा सहरमा बिरामी ओसारपोसार गर्नको लागि एम्बुलेन्स आवश्यक पर्दा जसले पनि रेडक्रसलाई सुरुमै सम्झिन्छ ।
तर पर्वत रेडक्रसमा रहेको एउटा चल्दै नचलेको र चलेको पनि निकै पुरानो भएर बेला बेलामा दुःख दिने गरेको रहेछ ।’ उनले भने, ‘आम नागरिकले मागेको बेलामा एम्बुलेन्स जान सकोस र कसैको ज्यान बाँचोस भनेर रेडक्रसलाई यो सहयोग गरिएको हो ।’
एम्बुलेन्स खरिदका लागि तत्कालै सात लाख ५५ हजार रुपैयाँ उपलब्ध भएको र बाँकी छ लाख रुपैयाँ पुन आउने रेडक्रस पर्वतका सभापति रुद्रबहादुर रिमालले बताए ।
सोही अवसरमा रेडक्रसमा रहेको रक्तसञ्चार केन्द्रलाई थप प्रभावकारी र आधुनिक रुपमा सञ्चालन गर्नको लागि पर्वत अस्पतालबाट करिब तीन लाख मूल्य बराबरका रक्तसञ्चार सम्बन्धि सामग्रीहरु पनि हस्तान्त्रण गरिएको छ । पहिलेबाट नै रेडक्रसमा रक्तसञ्चार केन्द्र रहेको भए पनि आवश्यक बजेटको अभावमा त्यसलाई प्रभावकारी र सुबिधायुक्त बनाउन सकिएको थिएन् ।
जसलाई जुन बेलामा रगतको आवश्यकता पर्दछ त्यही बेलामा सम्पर्कमा रहेका व्यक्तिहरुलाई बोलाएर रक्तदान गर्ने गरिएको छ । यसलाई व्यवस्थित रुपले सञ्चालन गर्नको लागि ती सामग्रीहरु रेडक्रसलाई हस्तान्तरण गरिएको अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले बताए । सहयोग गरिएका सामग्रीहरुमा माईक्रोसकप, डोनेसन चियर, ब्लड व्याग लगायत रहेका छन् ।
पर्वत रेडक्रसका सभापति रिमालले पर्वत अस्पतालमा डायलासिस गराउने तथा अन्य विरामीहरुलाई आवश्यक पर्ने रगतको आपूर्ति सुनिश्चित गर्नका लागि पर्वत अस्पतालले दिएको उपकरणले धेरैको ज्यान बचाउन सहयोगी भूमिका खेल्ने बताए । ‘एनआरएनएबाट एम्बुलेन्स नै सहयोग भएको छ । पर्वत अस्पतालबाट रक्तसञ्चार सेवाको प्रभावकारिताको लागि उपकरणहरु प्राप्त भएका छन् । यसको पूर्ण सदुपयोग गरेर कसैको ज्यान बचाउन हामी समर्पित छौँ ।’
उनले भने, ‘रेडक्रसले पर्वत अस्पतालमा उपचारका लागि आउने र रगत आवश्यक पर्ने विरामीलाई निःशुल्क रगत उपलब्ध गराउने र सो वापत पर्वत अस्पतालले रेडक्रसलाई व्यवस्थापन खर्च सोधभर्ना दिने गरि अस्पतालले बजेट विनियोजन गरेको छ । यो खुसीको कुरा हो ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!