बागलुङ नगरपालिकाको दाँतमा ढुंगा – चौतफी विरोधपछि हट्यो झोलुङ्गे पुलमा लगाएको कर - News site from Nepal

 बागलुङ –  विश्वको लामो दाबि गरिएको बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल तरे बापतको शुल्क लिने निर्णबाट बागलुङ नगरपालिका पछि हटेको छ । नगरपालिकाले मंगलबारदेखि पूर्वाधार उपयोग कर शीर्षक राखेर पुल तर्ने यात्रुबाट २० रुपैयाँ असुल्न थालेको थियो ।
तर जनस्तरबाट व्यापक विरोध भएपछि अर्को शुल्क असुल्न छोडेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै अर्को व्यस्था नहुँदा सम्म शुल्क नलिने जानकारी गराइएको छ । चैत २६ गते बसेको नगर कार्यपालिकाको बैठकले पूर्वाधार उपयोग करअन्तर्गत पुल आउजाउ गर्ने यात्रुबाट रु २० लिने निर्णय गरेको थियो ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विद्यार्थीलाई रु १० तथा विदेशी पर्यटकलाई रु ५० तोकिएको थियो । बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिकाका बासिन्दाबाट शुल्क नलिने निर्णय गरिएको थियो । चते दशैँकको दिनबाट शुल्क उठाउन थालेपछि सामाजिक सञ्जालमासमेत उक्त कार्यको आलोचना भएको थियो ।
बुधबार जिल्लामा क्रियाशील विद्यार्थी संगठनले समेत कर लिने निर्णय सच्याउन नगरपालिकालाई दबाब दिएका थिए । सर्वसाधारणको आवातजावतमा सहजताका लागि निर्माण गरिएको झोलुङ्गे पुलमा कर लगाउनु अनुचित हुने भन्दै स्थानीयस्तरमा समेत विरोध शुरु भएको थियो । बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचौर र कुश्मा नगरपालिका वडा नम्बर १ अुदवाबारी जोड्ने ५६७ मिटर लामो उक्त झोलुङ्गे पुललाई सिङ्गल स्पानतर्फ संसारकै लामो भनेर नगरपालिकाले जिकिर गर्दै आएको छ ।
यो पुल निर्माण भएपछि मुलुकका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटकको उल्लेख आवागमन भई रहेको छ । बागलुङको पर्यटनमा यो पुलको एउटा इटा थप्न सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!