कृषि उपजको उत्पादन र बजारीकरणका बारेमा पर्वतमा अन्तरक्रिया - News site from Nepal

पर्वत- कृषि उपजको उत्पादन र बजारीकरणका बारेमा पर्वतमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
कृषि विकास निर्देशनालय पोखराको आयोजना र कृषि ज्ञान केन्द्र पर्वतको समन्वयमा कृषक र बिक्रेताका बिचमा छलफल भएको हो । छलफलमा किसानहरुले उत्पादनले सहज बजार नपाएको गुनासो गरेका छन् । किसानले कोल्ड स्टोर नहुँदा तरकारी तथा फलफुलको भण्डारण गर्न नसकिएको, बिचौलियाको प्रभावका कारण वास्तविक मुल्य नपाएको, अनुदान वितरणमा पनि भनसुन चल्ने गरेको, बजारमा कृषि फसलको मुल्यमा एकरुपता नभएको , ढुवानीमा धेरै झण्झट हुने गरेको लगायतका समस्या सुनाए ।
उत्पादन देखि बजारीकरण सम्मका यस्ता समस्या समाधान नहुँदासम्म कृषिको व्यवसायिककरण हुन नसक्ने र यूवा पलायनता बढ्ने सहभागीले बताए । कृषि विकास निर्देशनालय पोखराका निर्देशक बासुदेव रेग्मीले किसानहरुले बजारको माग र आवश्यकतालाई मध्यनजर गर्दै उत्पादन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
कृषिलाई उद्यमको रुपमा विकास गर्ने र सहकारी अवधारणामा खेती प्रणाली अपनाउनु पर्ने रेग्मीले बताउनुभयो । उहाँले सरकारले दिने कृषि अनुदान र प्रोत्साहनको दुरुपयोग हुन नदिन नियमित अनुगमन गरिने बताउनुभयो ।
पर्वतमा भैरहेको काम र कृषि रणनीतिका बारेमा कृषि ज्ञान केन्द्रका प्रमुख मनिता थापाले जानकारी प्रस्तुत गर्नुभएको थियो । थापाले किसानको उत्पादन सहज बजार पठाउन विभिन्न स्थानमा संकलन केन्द्र स्थापना गरिएको, ढुवानीमा अनुदान दिईएको, बजारीकरणका लागि पहल गरेको, विभिन्न तालिम तथा परामर्श दिँदै आएको बताउनुभयो ।
पर्वत खाद्यन्नमा आत्मानिर्भर भएपनि तरकारी र फलफुलमा परनिर्भर रहेको पनि थापाले बताउनुभयो । व्यावसायिक खेतीपाती र उत्पादन बृद्धिका लागि केन्द्र, प्रदेश र स्थानीय तहकुा बिचमा समन्वयात्मक सम्बन्ध हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष गोपी अधिकारीले जिल्लाको समग्र कृषिको राम्रो संभावना रहेको हुनाले पछिल्लो समय यूवाहरुको आकर्षण बढेको र उनीहरुलाई राज्यले थप प्रोत्साहन गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!