पर्वत उद्योग बाणिज्य संघको पदाधिकारीको कार्यविभाजन, तीन वर्षे कार्ययोजना सार्वजनिक - News site from Nepal

पर्वत- गत चैतमा सम्पन्न पर्वत उद्योग बाणिज्य संघवाट निर्वाचित समितिका पदाधिकारीको कार्यविभाजन गरिएको छ ।
सोमवार सम्पन्न वैठकले पदाधिकारीको जिम्मेवारी तोकेको हो । जस अनुसार बरिष्ठ उपाध्यक्षमा ठाकुर वि पौडेल रहनुभएको छ भने उद्योग उपाध्यक्षमा कमल जिसी, बाणिज्य उपाध्यक्षमा गणेश लामिछानेलाई जिम्मेवारी दिईएको छ । यसैगरी महासचिबमा रमेश लामिछाने, सचिबमा राजन गुरुङ, कोषाध्यक्षमा नारायण शर्मा पौडेल र कार्यसम्पादन समिति सदस्यमा शेरबहादुर चोचाङ्गी मगरलाई जिम्मेवारी दिईएको छ । पर्वत उद्योग बाणिज्य संघको कार्यसमिति २३ सदस्यीय छ । अध्यक्षमा भने गोपि अधिकारी बिजयी हुनुभएको थियो ।
कोभिड-१९ का कारण वैठक बस्न नसकेका कारण कार्यविभाजनमा केहि ढिलाई भएको हो ।
संघको निर्वाचित समितिले तीन वर्षे कार्ययोजना समेत सार्वजनिक गरेको छ । विगतमा औपचारिक समारोह गरेर आफ्नो कार्यकालको योजना सार्वजनिक गर्ने गरिएको भएपनि यसपटक कोभिड-१९ का कारण समितिको वैठकवाट सार्वजनिक गरिएको अध्यक्ष गोपि अधिकारीले जानकारी दिनुभयो । संघले विगतका वर्षहरुमा भएका रचनात्मक कामहरुलाई निरन्तरता दिने, जिल्लाका सातै स्थानीय तहमा विना दर्ता संचालित उद्योग ब्यावसायलाई दर्ता गर्न सहजीकरण गर्ने योजना ल्याएको छ ।
त्यसैगरी राष्ट्रियस्तरको सातौ पर्वत महोत्सव आयोजना गर्ने, उद्योग बाणिज्य संघमा स्थापना भएको अक्षयकोषलाई बृद्धि गर्दै लैजाने, उपशाखाहरुमा महिला उद्यमी समिति विस्तार गर्ने, संघले शुरुवात गरेको कुश्मा-कल्लेरी सडकको स्तरोन्नती, र कल्लेरीमा मोटरेबल पुल निर्माणका लागि पहल गर्ने निणर्य समेत गरेको छ ।
पर्वतलाई लप्सी जिल्लाको रुपमा विकास गर्न पहल गर्ने, कागती, सुन्तला, अदुवा अलैची खेतीको विस्तारमा जोड दिने तथा जिल्लामा सुविधासम्पन्न कोल्डस्टोर स्थापना, जडिबुटी तथा खानीजन्य सम्भावनाको खोजी गरी करिडोर आसपासमा उद्योग स्थापना गर्ने योजना समेत संघले अघि सारेको छ ।
कुश्मामा रहेका अग्ला र लामा पुल परिसरमा पार्क, पिकनिक स्पोर्ट, साईकल मार्ग जस्ता पूर्वाधारको विकास गरिने, पोके व्यापारीलाई निरुत्साहित गरिने, संघको पहलमा निर्माणाधिन विश्वकै अग्लो शिवपार्वतीको मुर्तिलाई पुणर्ता दिन पहल गर्ने र अन्य धार्मिक स्थलको प्रवद्र्धनका लागि गुरुयोजना बनाउने कार्ययोजना समेत अघि सारिएको छ । कोभिड-१९ वाट प्रभावित उद्योगी, व्यावसायिहरुका निम्ति विभिन्न सहुलियतपुणर् कार्यक्रमहरु अघि बढाउने, बडागाउँमा रहेको महोत्सव स्थल तथा खेलमैदानलाई अझै व्यवस्थित गरिने, कुश्मामा व्यवस्थित पार्कीङस्थल, बसपार्क र सिटीहल निर्माणका लागि पहल गर्ने, कुश्मादेखि भैरबस्थान र दुर्लुङकोटसम्म केवुलकार निर्माण गरिने, कुश्मालाई ग्रिनसिटीको रुपमा विकास गर्न विभिन्न बोटविरुवाहरु रोप्ने कार्ययोजनामा समावेश गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो । पर्वत उद्योग बाणिज्य संघमा आवद्ध व्यावसायिहरुको दुर्घटना विमा गरिने र त्यसको ५० प्रतिशत संघले व्यहोर्ने निणर्य समेत वैठकले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!