पर्वतको फलेवासमा श्रमिक कल्याणकारी कोष तथा नागरिक पेन्सन कार्यक्रम शुरु - News site from Nepal

पर्वत- पर्वतको फलेवास नगरपालिकाले श्रमिक कल्याणकारी कोष तथा नागरिक पेन्सन कार्यक्रम शुरु गरेको छ । श्रमिक तथा विपन्न परिवारका लागि नगरपालिकाले आजबाट उक्त कार्यक्रमको औपचारिक शुभारम्भ गरेको हो ।
नागरिक लगानी कोष र फलेवास नगरपालिका बिच कल्याणकारी कोष र पेन्सन योजनाका बारेमा दुईपक्षिय सम्झौता एमओयू भएको छ । फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजाल र नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपाल, उपनिर्देशक नारायणप्रसाद घिमिरेले सम्झौतामा हस्ताक्षर गरि सम्झौतापत्रको एक एक प्रति लेनदेन गरे संगै फलेवास नगरपालिकाले श्रमिक कल्याणकारी कोष तथा नागरिक पेन्सन कार्यक्रम औपचारिक रुपमा शुरु भएको घोषणा गरियो । फलेवास नगरपालिकाले चार जना लाभग्राहीलाई परिचयपत्र वितरण गरेर सबै वडाबाट लाभग्राहीमा सूचिकृत भएकाहरुलाई परिचयपत्र वितरण समेतको शुरुवात गरेको जानकारी दिईएको छ ।


कार्यक्रम शुरुवात गर्दै नगरप्रमुख पदमपाणी शर्माले श्रमिकहरुको सामाजिक सुरक्षा गर्नुपर्ने दायित्व वहन गर्दै कार्यक्रम शुरु भएको बताउनुभयो । उहाँले फलेवास नगरपालिका जनमुखी कार्यक्रम सञ्चालन गर्दै फलेवास लाई नमूना नगर बनाउने मुलमर्मका साथ अगाडी बढेको दाबी गर्नुभयो । पूर्वाधार विकास, सडक बिस्तार, कालीगण्डकी जलाशययुक्त परियोजना लगायतका चर्चित कार्यक्रम सञ्चालनमा ल्याएको फलेवासले नागरिक पेन्सन कार्यक्रम पनि शुरु भएकोमा खुशी व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा फलेवास नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारीले जनप्रतिनिधिहरु नागरिकहरुको कल्याण र सेवाका लागि दिगो योजनाका साथ लागेका छन् भन्ने प्रमाण यो अभियानले देखाएको बताउनुभयो । अब बृद्ध बृद्धा र अशक्त अवस्थामा कसैको भर पर्नु नपर्ने बताउँदै यो कार्यक्रमलाई अझै प्रभावकारी रुपमा धेरै भन्दा धेरै मजदुरहरुलाई समेट्नेगरी अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपाल, उपनिर्देशक नारायणप्रसाद घिमिरे, एनआईसी एसिया बैँकका सहायक महाप्रवन्धक रञ्जन खड्का, प्रमुख प्रशासकिय अधिकृत मुक्तिराम रिजाल, नेपाल कम्यूनिष्ट पार्टी फलेवासका अध्यक्ष पिताम्वर घिमिरे, नेपाली काँग्रेसका सचिव भीमवहादुर लम्साल क्षेत्री लगायतले बोल्नुभएको थियो । नगर प्रवक्ता टिकाराम गौँडेलका अनुसार यो कार्यक्रममा अहिले सम्म ६५५ जना असंगठित क्षेत्रका मजदूर सूचिकृत भएका छन् ।
चालु वर्ष ८ सय जना लाई समाबेश गर्ने लक्ष्य रहेको छ । नागरिक पेन्सन योजनामा समाबेश हुने श्रमिक मार्फत प्रति व्याक्ति ५ सय रुपैर्याँ र नगरपालिकाले ५ सय रुपैयाँ थप गरेर कोषमा जम्मा गर्ने व्यवस्था मिलाईएको छ । ६० वर्ष उमेर पुगेपछि लाभग्राहीले पेन्सन पाउन शुरु गर्ने गरि कार्यविधि बनाईएको छ ।
कार्यक्रममा स्वागत नागरिक पेन्सन कार्यक्रमका शाखा प्रमुख रमेश शर्मा र संचालन योजना ब्यवस्थापक देविप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!