क्षेत्रीका अनुसार पातीचौरमा स्थानीयले चन्दा संकलन र जग्गादान गरेको स्थानमा प्रसासनिक भवन बनाउन थालिएको हो । उक्त भवन कन्टेन्जेन्सी वाहेक ३ करोड ४९ लाखमा निर्माण हुँदैछ । दुईतल्लाको भवन बनाउने तयारी रहेको छ । भवन निर्माणका लागि गत वर्ष चैतमा टेण्डर आव्हान भएर सम्झौता भएपनि कोरोना संक्रमणका कारण निर्माण कार्य ढिलो भएको थियो । असोजमा फेवा कन्ट्रक्सनले ठेक्का पाएको थियो । निर्माण कम्पनीले निर्माणको काम द्रुत गतिमा अगाडी बढाएको प्रमुख प्रसासकिय अधिकृत क्षेत्रीले जानकारी दिनुभयो ।
साढे २ रोपनी जग्गामा प्रसासनिक भवन बनाउन थालिएको हो । भवनमा १६ वटा कोठा बन्ने जनाईएको छ । दुई तल्ले चवनमा माथिल्लो तला र तल्लो तलामा सहज ओहोरदोहोर गर्न सिँढी र लिफ्ट समेत हुने भएको छ । प्रसासनिक भवन एक वर्षमा सम्पन्न गर्ने सम्झौता छ । मोदी गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयले ७० लाख रुपैयाँ मूल्य बराबरको जग्गा निःशुल्क उपलब्ध गराएका छन् । देउपुरको कँडेनबाट पातिचौरमा सरेको केन्द्रका भवन निर्माण गर्न वडा नम्बर २ का बासिन्दाले रकम उठाएर जग्गा खरिद गरेका हुन् । जग्गा खरिदका लागि १ सय परिवारभन्दा बढीले पाँचदेखि १ लाख ७५ हजार रुपैयाँसम्म चन्दा सहयोग गरेका थिए ।
पातीचौर आसपासमा सार्वजानिक जग्गा र अन्य कुनै कार्यालयको भवन नभएकाले जग्गा खरिद नै गर्नु परेको थियो । अहिले गाउँपालिकाको भवन भाडाको घरमा छ । जिल्लाका ७ स्थानीय तहमध्ये मोदी गाउँपालिकाको भवन सबैभन्दा पहिले तयार हुने देखिएको छ । चालु वर्ष बिहादी गाउँपालिका र पैयुँ गाउँपालिकाले भवन निर्माण गर्दैछन् । कुश्मा नगरपालिका र जलजला गाउँपालिकाको प्रसासनिक भवन निर्माणका लागि पूर्वाधार विकास विभागमा प्रस्ताव पठाईएको छ । फलेवासको स्थायी केन्द्र झकलाकमा तोकिएपछि यहाँ पनि भवन निर्माणको प्रक्रिया शुरु भएको छ । महाशिला गाउँपालिका साविक बालाकोट गाविसको भवनमा छ ।