पर्वतमा निरन्तरको वर्षाले लाखौको धानबाली नष्ट - News site from Nepal
पर्वतमा निरन्तरको वर्षाले लाखौको धानबाली नष्ट

पर्वत- शनिवार राती केहिवेर र आइतवार रातीदेखि लगातार परेको वर्षाका कारण पर्वतमा लाखौको धानवाली नष्ट भएको छ । दशैँ सकिएलगत्तै भित्र्याउनका लागि काटेर सुकाएको धान पानीले नष्ट गरिदिएपछि किसान चिन्तित बनेका छन् ।
पर्वतको कुश्मा नगरपालिका, फलेवास नगरपालिका, मोदी, जलजला र महाशिलाका विभिन्न ठाउँमा कृषकहरुले भित्र्याउनका लागि धान काटेका थिए । दशैका बेला लगातार घाम लागेकाले धान काटेर सुकाएका थियौँ, शनिवार राती केहिवेर र आइतवार रातीदेखि लगातार परेको वर्षाले पुरै नष्ट गरिदियो, कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीका कृषक डण्डपाणी सापकोटाले भन्नुभयो । उहाँका अनुसार उक्त गाउँमा एक दर्जन भन्दा बढि कृषकहरुको धान वर्षाले नष्ट गरिदिएको छ । काटेको धान नष्ट भएको छ भने पाकेको धान समेत वर्षाले झर्न थालेको उहाँको भनाई रहेको छ ।
एक्कासी परेको वर्षाले ठुलो क्षति बनाएको कृषकहरुको गुनासो रहेको छ । दशैँको बेला धान पाक्ने समय हुने र घर गाउँमा जनशक्ति पनि धेरै हुने भएकाले धान पाकेको ठाउँमा यही बेला धान काट्ने र भित्र्याउने चलन रहेको छ । तर अस्तिदेखि पानी पर्न थालेपछि टीका सकिएलगत्तै धान काट्ने किसानको योजना बिफल बनाएको छ । धान काट्ने बेलामा पानी पर्ने संकेत नदेखिए पनि धान काटेर सुकाउनेबित्तिकै पानी परेपछि नोक्सानी भएको अर्का कृषक गणेश पौडेलको गुनासो छ । सात जना खेताला लगाएर आइतवार दिनभर काटेको धान रातीदेखिको पानीले नष्ट भएको पौडेलले बताउनुभयो ।
धान नकाटेको ठाउँमा पनि वर्षाले धानको बोट ढलेको छ ।कृषि ज्ञान केन्द्र पर्वतले विभिन्न ठाउँमा कृषकहरुले भित्राउनका लागि काटेको धान वर्षाले नष्ट गरेको जनाएको छ । यद्यपी सवै ठाउँमा धान पाकिनसकेकाले ठुलो क्षति भने भएको छैन । क्षतिको विवरण संकलनको काम भैरहेको ज्ञान केन्द्रका प्रमुख मनिता थापाले जानकारी दिनुभयो । वर्षा भएपनि नकाटेको र नपाकेको धानलाई भने खासै असर नगर्ने कृषि विज्ञहरुको भनाई रहेको छ ।
मौसमको अवस्था बुझेर मात्रै धान काट्न कृषि विज्ञको सुझाव छ । मौसमविदहरुले भने बुधबारसम्म नै पानी पर्ने बताएका छन् । पर्वतमा यस वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको छ । जिल्लाको मुख्य वालीको रुपमा रहेको धानखेती ९ हजार २१ हेक्टर क्षेत्रफलमा लगाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!