पर्वत- संघीयता कार्यान्वयन सँगै स्थानीय तह बनेपछि वडा नं. ३ बालाकोटमा तोकिएको पर्वतको महाशिला गाउँपालिकाको स्थायी केन्द्र परिवर्तन गरिने भएको छ ।
गाउँपालिकाको बिहीवार सम्पन्न नबौ गाउँसभाले पालिकाको स्थायी मुख्य केन्द्र साविक वडा नं. ५ लुंखुदेउराली र वडा नं. ३ बालाकोटको सिमानामा पर्ने काफलडाँडा र वडा नंं. ५ को ठुलास्वाँरामा बनाउने निणर्य गरेको हो । गाउँपालिकाको मुख्य प्रशासनिक कार्यालयका दुईवटा भवन काफलडाँडा र ठुलास्वारामा निर्माण गर्ने निणर्य गाउँसभाले गरेको महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
अहिले साविक वालाकोटको गाविस भवनवाट सेवा प्रवाह गरिँदै आएको छ । उक्त कार्यालय साँघुरो र नयाँ संरचना बनाउने ठाउँ समेत पर्याप्त नुहँदा दैनिक कार्यसम्पादनमा समस्या पर्दै आएको छ । काफलडाँडा र ठूलास्वाँरामा झण्डै ९ रोपनी जग्गा रहेको छ ।
प्रदेश र संघीय सरकारको सहयोगमा बन्ने प्रशासनिक भवनका लागि गाउँसभाले श्रोतको सुनिश्चितता गर्ने निणर्य समेत गरेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । हामीले नयाँ प्रशासनिक भवन निर्माणका लागि श्रोतको सुनिश्चितता समेत गरेका छौ उहाँले भन्नुभयो -‘वडा नं. ३ कै काँफलडाँडा र सँगै जोडिएको ठुलास्वाँरामा भवन बनाउँदा सवैलाई पायक पर्ने भएकाले गाउँसभाले सर्वसम्मत निणर्य गरेको हो ।’
त्यसैगरी गाउँसभाले १५ शैयाको पालिका स्तरीय आधारभुत अस्पताल निर्माणका लागि डिपिआर तयार गर्ने निणर्य गरेको छ । उक्त अस्पतालको गएको मंशिर १५ गते शिलन्यास भैसकेको छ ।
गाउँसभाले बालाकोट स्वास्थ्य चौकीको भवन निर्माण सम्वन्धी जग्गा प्रस्ताव समेत अनुमोदन गरेको छ । राजश्वका दरमा परिवर्तन, घर जग्गाको नक्सा पासको दस्तुर निर्धारण गर्ने निणर्य समेत गाउँसभाले गरेको अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
गाउँसभामा जनप्रतिनिधि निर्वाचित भएदेखि हालसम्म गरेका कामहरुको बारेमा स्वेतपत्र प्रस्तुत गरिएको छ । उक्त स्वेतपत्रमा आवश्यक सुझाव तथा प्रतिकृया लिएपछि सार्वजनिक गरिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो । गाउँपालिकाको समृद्धि र विकासका लागि के के काम भए र अब गर्नुपर्ने मुख्य कामहरु के के छन् भन्ने विषयबस्तु समेटेर स्वेतपत्र जारी गरिएको उहाँले बताउनुभयो ।
त्यसैगरी नबौ गाउँसभाले केहि आर्थिक तथा विनीयोजन ऐन परिमार्जनको प्रस्ताव पारित गरिएको भने भने केहि बजेट संशोधन समेत गरिएको गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिनुभयो ।