पर्वत- नेकपाको प्रचण्ड-माधव समुहका युवाहरुले पर्वतको कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीमा राके जुलुस प्रदर्शन गरेका छन् ।
सरकारको असंवैधानिक कदमका विरुद्ध आन्दोलित बनेको प्रचण्ड माधव समुह र भातृ संगठनहरुले दैनिकजसो विरोध कार्यक्रम संचालन गर्दै आएका छन् । सोहि अनुसार पिपलटारीमा युवाहरुले जुलुस प्रदर्शन गरेका हुन । पिपलटारीको वडा कार्यालय नजिकैवाट शुरु भएको राँके जुलुस गहते पोखरामा गएर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्वोधन गर्दै नेकपा कुश्मा नगरकमिटिका अध्यक्ष शंकर गिरीले मुलुकको संघीयता, गणतन्त्र र संविधानको रक्षा गर्न फेरी एक पटक आन्दोलनको आँधिवेहरी सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले असंवैधानिक कदमका विरुद्ध एकजुट भएर लाग्न युवाहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा पिपलटारीका वडा अध्यक्ष सुजन विक अमर, साजन श्रेष्ठ, विदुर नेपाली, बलराम नेपाली लगायतले सम्वोधन गर्नुभएको थियो । कार्यक्रममा प्रचण्ड-माधव समुहका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।