पर्वतका स्थानीय तहद्धारा कोभिड नियन्त्रणमा संघ र प्रदेशले सहयोग नगरेको गुनासो - News site from Nepal

पर्वत – महाशिला गाउँपालिकाका प्रवक्ता एवं वडा ५ का अध्यक्ष जीवनविक्रम उचैठकुरीले शनिबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै अक्सिजन सिलिन्डरको अभावमा बिरामीले गाउँमै ज्यान गुमाउन सक्ने अवस्था आएको जनाए ।
प्रमुख जिल्ला अधिकारीको सिफारिस लिएर गण्डकी प्रदेश सरकारसम्म पुग्दासमेत ५ थान सिलिन्डर नपाएपछि विभिन्न व्यक्ति र संघसंस्था धाउनुपरेको दुखेसो ठकुरीले गरेका छन् ।
यस्तो गुनासो गर्नेमा ठकुरी एक्ला होइनन् । जिल्लाका सबैजसो स्थानीय तहले आफ्नो साधनस्रोत र जनशक्ति जुटाएर कोभिड–१९ नियन्त्रणका लागि पहल गरिरहेका छन् । तर संक्रमितका लागि आवश्यक अक्सिजनलगायत स्वास्थ्य सुरक्षाका उपकरणका लागि प्रदेश र केन्द्र सरकारले आवश्यक पहल नगर्दा जनप्रतिनिधि निराश छन् । जिल्लामा आइतबारसम्म कोरोनाको दोस्रो लहरबाट सक्रिय संक्रमितको संख्या साढे ३ सय नाघेको छ । १२ जनाले ज्यान गुमाइसकेका छन् । संक्रमित र ज्यान गुमाउनेको संख्या वैशाख दोस्रो सातायताको मात्रै हो ।

संक्रमितमध्ये पर्वत अस्पतालमा १४, जलजला गाउँपालिकाको आइसोलेसनमा १, महाशिलाको आइसोलेसनमा ७, पैयुँको आइसोलेसनमा ४ र जिल्लाबाहिरका विभिन्न अस्पतालमा ७ जना उपचाररत छन् । पछिल्लो समय जलजला, कुश्मा र महाशिलामा धेरै संक्रमित फेला परेका छन् । स्थानीय सरकारले संक्रमितको उपचारका लागि प्रयोगमा ल्याएका आइसोलेसन बेडमा सामान्य अक्सिजनको जोहो गर्नसमेत प्रदेश र केन्द्र सरकारको भर पर्नुपर्ने तर दुवै सरकार स्थानीय तहमा स्वास्थ्य सामग्री व्यवस्थापनमा अनुदार देखिएको गुनासो गर्छन् । ‘अहिले सबैतिर समस्या छ, त्यो हामीलाई थाहा छ,’ फलेबासका नगर प्रमुख पदमपाणि शर्मा भन्छन्, ‘तर हामीले जुन खालको अभिभावकत्व र सहयोग पाउनुपर्ने हो, त्यो पाइएन ।’

जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले कोभिड–१९ को दोस्रो लहर सुरु भएदेखि नै प्रदेश र संघ सरकारप्रति गुनासो गरिरहेका छन् । गाउँपालिकासँग समेत कोरोना नियन्त्रणमा स्रोतको कमी भएपछि व्यक्तिगत लगानी गरेका छन् । गाउँपालिकाले तयार गरेको आइसोलेसन कक्षमा ५ थान सिलिन्डर र करिब ५ लाख रुपैयाँ बराबरका स्वास्थ्य सामग्री अध्यक्ष मल्लले आफ्नै लगानीमा जोहो गरेका छन् । ‘हामीले कतिपटक समस्याबारे सीडीओ कार्यालय हुँदै प्रदेश र संघलाई जानकारी गरायौं,’ उनले भने, ‘कुनै कुराको सुनुवाइ भएन ।’ मल्लले आफू र उपाध्यक्ष चढ्ने दुईवटा गाडीसमेत कोरोना संक्रमितको उपचार तथा औषधि र स्वास्थ्य उपकरण खरिदका लागि दिएका छन् ।
पर्वतका सबैजसो स्थानीय सरकारले कोभिड नियन्त्रणका लागि न्यूनतम ५ देखि २० बेडसम्मका आइसोलेसन तयार गरेका छन् । तर बेडअनुसार अक्सिजन, औषधि, स्वास्थ्यकर्मीलगायतका सुविधाका लागि प्रदेश र केन्द्र सरकारकै भर पर्नुपर्दा समस्या भएको जनप्रतिनिधिको गुनासो छ । ‘सामान्य प्रकृतिका बिरामीलाई यहीं उपचार गर्न सकिन्थ्यो,’ पैयुँका अध्यक्ष खगेन्द्र तिवारीले भने, ‘अक्सिजन सिलिन्डर, रेम्डेसिभिरलगायत औषधिको अभाव भयो ।’

कान्तिपुरवाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!