पर्वतको कुश्मा नगरपालिकाद्धारा प्रकोप व्यवस्थापन कोषमा सहयोग गर्न अपिल - News site from Nepal

पर्वत- पर्वतको कुश्मा नगरपालिकाले कोरोना संक्रमितको उपचार, कोरोना नियन्त्रण तथा व्यवस्थापनका लागि सहयोगको अपिल गरेको छ ।
नगरपालिकाले आज एक विज्ञप्ती प्रकाशित गरि कोरोना संक्रमण बढ्दै गएको र संक्रमित दिनदिनै बढ्दै जाँदा विभिन्न स्वास्थ्य सामाग्री, पिपिई मास्क, अक्सिजन लगायतका सामाग्रीको अभाव देखिएकाले त्यसको व्यवस्थापनका लागि आर्थिक सहयोग गर्न अपील गरेको हो । नगरपालिकाले प्रकोप व्यवस्थापन कोष बनाएर सहयोग गर्न देशबिदेशमा रहेका सहयोगी महानुभाव तथा संघसंस्थालाई अनुरोध गरेको नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो ।
गतवर्ष पनि नगरपालिकाले कोरोना कोष बनाएर सहयोग जुटाएको थियो । गतवर्ष विभिन्न निकायले सहयोग गरेका थिए । उक्त सहयोगले स्वास्थ्य सामाग्री व्यवस्थापन, कोभिड अस्पताल सञ्चालन, बिदेशबाट फर्किएकाहरुको परिक्षण र उपचार, औषधी तथा राहात वितरण गरिएको थियो । दोस्रो चरणको नयाँ भेरियण्ट सहितको कोरोनाले समस्या पार्दै गएपछि नगरपालिकाले आर्थिक सहयोगको अपेक्षा गरेको विज्ञप्तीमा जनाईएको छ ।
नगरको अनुरोध अनुरुप आज हार्नेस जीपलाईनका संचालक तथा यूवासंघका नेता सुनिल थापा बानियाँले २५ हजार रुपैयाँ सहयोग स्वरुप हस्तान्तरण गर्नुभएको छ । बानियाँले नगरप्रमुख जोशीलाई नगद हस्तान्तरण गर्दै थप सहयोगका लागि पनि पहल गर्ने आश्वसन दिनुभएको छ । बानियाँले अन्य व्याक्ति तथा संघसंस्थाले पनि नगरको अभियानमा सहयोग गर्न अनुरोध गर्नुभयो । उक्त कोषमा सहयोग रकम संकलन गरी राहत नगरबासीको उपचारमा रकम खर्च गर्ने गरी कोषको स्थापना गरिएको नगरप्रमुख जोशीको भनाई छ ।
नगरपालिकाले नेपाल वैंक पर्वतको खाता नम्बर ०६६०३०००००७००२०००००२ मा प्रकोप ब्यवस्थापन कोषको खातामा सहयोग रकम उपलब्ध गराउन पनि नगरबासीलाई आब्हान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!