पर्वत- पर्वत उद्योग बाणिज्य संघको आगामी नेतृत्वका लागि यहि चैत ७ गते शनिवार निर्वाचन हुँदै छ । आगामी नेतृत्वका लागि मंगलवार दुई छुट्टाछुट्टै समुह बनाएर उम्मेदवारी दर्ता गरेका छन् ।
गोपि अधिकारीको प्यानलमा २३ र शिव शर्मा पौडेलको प्यानलवाट २३ जनाले उम्मेदवारी दर्ता गरेका हुन् । बिहीवार उम्मेदवारको सुचि प्रकाशन भएसँगै व्यावसायिहरु नेतृत्व आ-आफ्नो पोल्टामा पार्नका लागि पुनः प्रचारप्रसारमा सक्रिय बनेका छन् ।
अधिकारीको समुह दक्षिण पर्वतका महाशिला, हुवास, त्रिवेणी, हुँदै विहादीतर्फ पुगेको छ । ठाउँठाउँका व्यावसायिहरुको भेला गरी आफ्ना एजेण्डा सुनाउने र मतमाग्ने काम भएको सदस्य पदका उम्मेदवार ठाकुरवी पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार महाशीला, पैंयु र विहादीमा आफ्नो पक्षमा स्थानीय व्यवासायिहरुको समर्थन बाक्लो देखिएको छ ।
त्यसैगरी प्रजातान्त्रिक प्यानलमा रहेका शिव शर्मा पौडेलको समुह बुधवार जलजला गाउँपालिकामा घरदैलोमा पुगेको छ । जलजला गाउँपालिकाको वारीवेनी, बगरफाँट, मिलनचोक, लस्ती लगायतका क्षेत्रमा मत माग्न पुगेको यो समुहका सदस्य पदका उम्मेदवार मानसिंह भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ल सहितको चुनावी प्रचार प्रसार कार्यक्रममा स्थानीय व्यावसायिहरुले आफ्नो पक्षमा मतदान गर्ने आश्वासन दिएका छन् ।
सहमतिय प्रणालीवाट नेतृत्व चयन नभएपछि शनिवार विहान ७ देखि साँझ ५ बजेसम्म निर्वाचन हुने भएको हो । पर्वत उद्योग बाणिज्य संघमा आवद्ध भएका २ हजार ३ सय व्यावसायी मतदानमा सहभागि हुने भएका छन् ।
आगामी नेतृत्वका लागि दुवै समुहले बिजयी हुने दावी गरेका छन् । पौडेललाई नेपाली काँग्रेस र समाजवादी पार्टीको समर्थन छ भने अधिकारीलाई सवै वामपन्थी दल र राप्रपाको समर्थन देखिएको छ ।