पर्वत- जिल्लाको मोदी गाउँपालिकाको चौथो स्थापना दिवस एक समारोहका बीच सम्पन्न भएको छ । गाउँ पालिका स्थापना भएको दिनलाई स्मरण गर्दे स्थापना दिवस मनाईएको हो ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सांसद पदम गिरीले मुलुकमा विकास निर्माणका काम तीब्र गतिमा भैरहेको बताउनुभयो । उहाँले निर्वाचन अघि बाचा गरिएका अधिकांस योजनाहरु पुरा हुँदै गएको बताउँदै बाँकी रहेका कामहरु एक वर्ष भित्रमा सम्पन्न गर्न आग्रह गर्नुभयो । अर्को निर्वाचनमा जाँदा हामीले हिजो वाचा गरेका सवै योजनाहरु पुरा गरेर मात्र भोट माग्न जानुपर्छ, नत्र जनताले गाली गर्ने दिन आउँछ ।
उहाँले सडक, सिंचाई, खानेपानी, स्वास्थ्य शिक्षा लगायतका क्षेत्रमा उल्लेखनिय काम भएको बताउँदै अधुरा योजनाहरु सम्पन्न गर्न तीनै तहका सरकार लागि परेको बताउनुभयो ।
दुई तिहाई बहुमत प्राप्त सरकारलाई काम गर्न नदिने बातावरण सिर्जना भएपनि प्रधानमन्त्रीले संसद विगठन गर्नुपरेको बताउँदै अदालतको निणर्य मान्दै सम्मानजनक रुपमा सरकार छाडिने बताउनुभयो । उहाँले अरु दल सडकमा कराउँदैमा प्रधानमन्त्रीले राजीनामा नदिने बताउँदै मुलुकलाई भड्खालोमा हाल्नका लागि सरकार छाड्न नहुने बताउनुभयो । उहाँले मोदी गाउँपालिको विकास र समृद्धिका लागि संघ र प्रदेशवाट आवश्यक सहयोगका लागि पहल गरिने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि पौडेलले विगत तीन वर्षमा भएको विकासले आम नेपालीहरु उत्साहित बनेको बताउँदै नागरिकले यहि सरकारलाई लामो समय टिकाउन चाहेको बताउनुभयो । संघ, प्रदेश र स्थानीय तहका समन्वय र सहकार्यवाट मात्र विकासले गति लिने बताउँदै पौडेलले विकास निर्माणका कामहरु समयमै सम्पन्न गर्न र तोकिएको गुणस्तर र मापदण्ड पालना गराउनुपर्नेमा जोड दिनुभयो ।
मोदी गाउँपालिका जिल्लाकै उत्कृष्ट पालिकाको रुपमा अघि बढेको बताउँदै निर्वाचित जनप्रतिनिधिहरुको समय छोटिँदै गएकाले विकासको कामको स्पिड बढाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा मोदी गाउँपालिकाका उपाध्यक्ष सेती महत, नेकपा एमालेका मोदी गाउँ कमिटि अध्यक्ष तेजबहादुर क्षेत्री, नेपाली काँग्रेसका जिल्ला सदस्य रामबहादुर प्रसाई जीवन, नेकपा माओवादी केन्द्रका मनबहादुर पौडेल, वडा नंं २ का अध्यक्ष विकास तिमिल्सिना लगायतले बोल्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत किसानबहादुर क्षेत्रीले विगत तीन वर्षको अवधिमा पालिकाले गरेका उपलव्धिहरुको प्रस्तुती राख्नुभएको थियो ।
सो अवसरमा पालिकाका उत्कृष्ट कर्मचारी तथा शिक्षक, उद्यमी, कृषक, उपभोक्ता समिति, होमस्टे संचालक लगायतका पेशाकर्मीलाई सम्मान गरिएको थियो भने विदाई भएर जाने कर्मचारीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत कार्यपालिका सदस्य लक्ष्मी सुनार र संचालन प्रमुख प्रशासकिय अधिकृत किसानबहादुर क्षेत्रीले गर्नुभएको थियो ।