पर्वत अस्पतालमा आजदेखि कोभिडका बिरामीलाई ३३ वेड संचालन - News site from Nepal
पर्वत अस्पतालमा आजदेखि कोभिडका बिरामीलाई ३३ वेड संचालन

पर्वत- कोभिड-१९ बाट संक्रमितको लागि उपचार गर्न पर्वत अस्पतालमा ३३ वटा वेड तयार गरिएको छ ।
यस अघि १३ वटा वेडमा कोभिडका बिरामीको उपचार गर्दै आएको अस्पतालले आइतवार थप २० वटा वेड तयार गरी सञ्चालनमा ल्याएपछि ३३ वटा वेड पुगेका हुन् । शनिवारसम्म १३ वटा वेडमा, प्यासेज र गल्लीमा गरी १६ जना कोभिड संक्रमितको उपचार गर्दै आएको थियो ।
पर्वत अस्पतालले सञ्चालन गरेको कोभिड उपचार कक्ष(आइसोलेसन)का बेड बिरामी ले भरिएपछि थप बिरामी राख्न बेड अभाब भएको थियो । आइतवारदेखि सहज रुपमा कोभिडका बिरामीलाईलाई बेड उपलब्ध गराईएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिनुभयो ।
अस्पतालको निर्माणाधिन भवनमा स्थायी रुपमै २० बेडको थप गरिएको उहाँले बताउनुभयो । अक्सिन आवश्यक परी अस्पताल भर्ना गर्नुपर्ने जिल्लाका बिरामीहरु पोखरा, काठमाण्डौ जानुपर्दा वेड नपाउने, महङ्गो शुल्क तिर्नुपर्ने जस्ता समस्या हुने भएकाले अस्पतालको व्यवस्थापन र स्थानीय नगरपालिकाको सहयोगमा क्षमता विस्तार गरिएको पहाडीले बताउनुभयो । जनशक्ति अभाव भएपनि अक्सिजन सहितका वेडहरु तयार भएको र थोरै जनशक्तिलाई धेरै परिचालन गरेर बिरामीहरुको उपचार गरिने उहाँको भनाई रहेको छ ।
पर्वत अस्पतालका विशेषज्ञ डा. डिवि क्षेत्री सहित २० जनाको टोलीलाई अन्य सेवा सँगै कोभिडका बिरामीको उपचारमा समेत परिचालन गरिएको छ । अब अस्पतालमा २ जना डाक्टर र ४ जना स्टाफ नर्स र ४ जना अहेब को तत्काल आवश्यकता रहेको अध्यक्ष पहाडीले जानकारी दिनुभयो । तत्काललाई अक्सिन समेत पर्याप्त रहेको छ ।
आइशोलेशन कक्षमा सिसीक्यामेरा जडान र शौचालय निर्माणका लागि कुश्मा नगरपालिकाले आर्थिक सहयोग गरेको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग जनशक्ति माग गरिएको भएपनि उपलव्ध हुन नसकेको उहाँले बताउनुभयो ।
पर्वत अस्पताल १५ बेड क्षमताको हो । अहिले पनि १५ बेड क्षमताकै जनशक्ति र आर्थिक स्रोत मात्र प्राप्त हुन्छ । तर अस्पतालले ५० बेड क्षमताको अस्पतालले दिने सुबिधा दिँदै आएको दाबी अध्यक्ष पहाडीको छ । जनशक्तिको अभाबमा पर्वत अस्पतालमा रहेका पाँच बेड आईसीयु र तीन ओटा भेन्टिलेटर पनि सञ्चानलनमा आउन सकेका छैनन । सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा आइसियु र भेन्टिलेटर प्रयोगबिहीन भएका छन । अस्पतालमा रहेको आइसोलेसनमा रहेका बिरामी गम्भीर अबस्थामा पुग्दा बिरामीले त्यो सेवा उपभोग गर्न पाउने अवस्था नभएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!