पोखरा – गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनलाई कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसन भर्ना भएकी छन् । मन्त्री पुनलाई रुघाखोकी र ज्वारो लगायतका समस्या देखिएपछि कोरोना संक्रमणको आशंकामा पीसीआर परिक्षण परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी मन्त्री पुनसँगै सामाजिक मन्त्रालयका सचिव बिनोद कुँवरलाइ समेत कोरोना संक्रमण पुष्टि भएपनि उनी समेत आइसोलेसनमा भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री पुन र सचिव कुँवर प्रदेश सरकारले बनाएको गण्डकी प्रदेशको एकमात्र संक्रामक तथा सरुवा रोग अस्पताल सिसुवाको आइसोलेसनमा भर्ना भएका हुन् ।
कोरोना संक्रमण पुष्टि भएपछि अस्पमतालको आइसोलेसनमा भर्ना भएकी मन्त्री पुनको स्वास्थ्य सुधारोन्मुख रहेको सरुवा रोग अस्पतालका निर्देशक डा.विकास गौचनले जानकारी दिए । उनका अनुसार सचिव कुँवरको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सचिव कुँबर १ हप्तादेखि आइसोलेसनमा बस्दै आएका छन् ।
प्रदेशका विभिन्न जिल्लाहरुमा हिमपातसँगै चिसो बढेको कारण रुधाखोकी र निमुनियाका बिरामीको संख्या बृद्धी भएका चिकित्सकहरुले बताएका छन् । गण्डकी प्रदेशमा हालसम्म १५ हजार ७ सय ७७ जनालाई कोरोना संक्रमण भएको छ । तीमध्ये १५ हजार २ सय ६० जना निको भएर घर फर्किएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म २ सय ३ संक्रमितको मृत्यु भइसकेको छ ।