पर्वत – भूमि सम्वन्धि समस्या समाधान आयोग पर्वतका पदाधिकारीहरुले बिहीवार पदभार ग्रहण गरेका छन् । जिल्ला समन्वय समितिसँगै स्थापना भएको आयोगको जिल्ला समितिको कार्यालयमा अध्यक्ष सहित दुई जना सदस्यले पदभार ग्रहण गर्नुभएको हो ।
सरकारले आयोगको जिल्ला अध्यक्षमा देबेन्द्रराज पाण्डे, विज्ञ सदस्यमा बिन्दु अधिकारी र सदस्यमा जीवलाल बस्याललाई नियुक्त गरेको छ । जिल्ला समन्वय अधिकारी सुरेश ढकालले बधाई ज्ञापन गर्दै खादा लगाएर अध्यक्ष र दुई सदस्यलाई छुट्टाछुट्टै कार्यकक्षमा पद भार ग्रहण गराउनुभएको हो ।
सो अवसरमा बोल्दै आयोगका जिल्ला अध्यक्ष देबेन्द्रराज पाण्डेले जिल्लामा रहेका भूमी सम्वन्धि समस्या र सुकुम्वासीका समस्याहरुलाई समाधान गर्नका लागि भोलीदेखिनै विशेष कार्ययोजना बनाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । जिल्लाका सात स्थानीय तहका ६१ वटै वडामा रहेका भूमि सम्वन्धी समस्याहरुको लगत संकलन गर्ने र समस्याहरुको पहिचान गरी समाधानमा केन्द्रीत रहने बताउनुभयो । पहिलो चरणमा वडा तहमा र पालिका तहमा भूमि सम्वन्धि समस्याको लगत संकलन गर्ने कार्य थालिने भएको छ ।
पाण्डेले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गर्ने कार्यलाई तीव्रता दिईने बताउँदै भूमिहिनलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने कार्य सरकारको उच्च प्राथमिकतामा रहेकोले वास्तविक भूमिहिनको लागत संकलन गर्ने कार्य सम्पन्न गर्दै मापदण्डभित्र परेकालाई जग्गाधनी पूर्जा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको एकिन लगत लिने कार्य आयोगको पहिलो र मूल कार्य भएकाले सोहि मर्म अनुरुप अघि बढ्ने पाण्डेले बताउनुभयो । यसपटक भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको लगत संकलनका लागि स्थानीय तहले लगत संकलकहरू बस्ती वा घरदैलोमा नै पठाउने गरी सरकारले प्रबन्ध समेत मिलाईसकेको छ । यसका लागि सम्बन्धित वडा तहका जनप्रतिनिधिहरू पनि लगत संकलकको साथमा नै रहनुपर्ने बताईएको छ ।
भुमि सम्बन्धि समस्या समाधान आयोगको जिल्ला समितिमा २ जना सरकारबाट मनोनित सदस्यहरु तथा जिल्ला प्रशासन कार्यलयका प्रशासकीय अधिकृत, डिभिजन वन कार्यालयका प्रमुख, नापी कार्यालयका प्रमुख तथा मालपोत कार्यलयका कार्यालय प्रमुख सदस्य रहने ब्यवस्था छ ।
यसैगरी जिल्ला समन्वय अधिकारी सदस्य सचिव उक्त समितिको रहन्छन् । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विमल प्रसाद गौतम, कुश्मा ११ का वडाअध्यक्ष शिव पौडेल, पत्रकार महासंघ जिल्ला शाखा पर्वतका अध्यक्ष छविलाल तिवारी लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।