पर्वत- पर्वतको जलजला गाउँपालिकामा २० बेड क्षमताको कोरोना अस्पताल संचालनमा आएको छ ।
जलजला गाउँपालिकाको वडा नं. ८ फर्सेमा अस्पताल संचालनमा ल्याईएको हो । मध्यपहाडी लोकमार्गलाई जोड्ने बेनी-मालढुंगा सडकको नजिकै अस्पताल संचालनमा ल्याईएको जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा अहिले ६ बेडमा अक्सिजन जडान गरिएको छ भने बाँकी वेडका लागि पनि अक्सिजनका व्यवस्थापनको तयारी भैरहेको छ ।
गाउँपालिकाले आफै अक्सिजन खरिद गरेर अस्पतालमा उपलव्ध गराएको छ । दोस्रो लहरको कोभिडवाट जलजला गाउँपालिका भित्र ३ जनाको ज्यान गइसकेको छ भने केहीको अवस्था गम्भीर रहेको छ । पालिकामा दोस्रो लहरमा ४५ जनामा कोरोना संक्रमण देखिएकोमा सक्रिय संक्रमित ३५ जना रहेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले बताउनुभयो ।
जसमा २९ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना बाग्लुङ, पर्वत र म्याग्दीका अस्पतालमा उपचाररत रहेका छन् । जलजलाले निर्माण गरेको अस्पतालमा अहिले १ जना उपचाररत रहेको मल्लले जानकारी दिनुभयो । अव गम्भिर खालका बिरामी बाहेक अन्यलाई गाउँपालिकाकै अस्थायी अस्पतालमा राखेर उपचार गर्न सकिने मल्लको भनाई रहेको छ ।
अस्थायी अस्पतालमा गाउँपालिकाले नियुक्त गरेका एक डक्टर र अन्य स्थानीय स्वास्थ्यचौकीमा कार्यरत अनमी र नर्सहरु चौविसै घण्टा परिचालन गरिने भएको छ । हामीसँग पर्याप्त अक्सिजनको व्यवस्था छैन, विभिन्न निकायसँग माग गरेका छौ, अक्सिजन पर्याप्त भएपछि अस्पतालमा जस्तोसुकै विरामी पनि भर्ना गर्न सकिन्छ, मल्लले भन्नुभयो, रिफर गर्नुपर्ने बिरामीलाई पनि अस्सिजन सिलिण्डरसँगै रिफर गर्न सकिनेगरी व्यवस्थापनमा जुटेको मल्लले बताउनुभयो ।’
गाउँपालिकाले यस अघि कोरोना संक्रमित बिरामीहरू बोक्नका लागि अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको सवारी साधनलाई एम्बुलेन्सका रूपमा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाकै स्वामित्वमा रहेको एउटा एम्बुलेन्स पनि भएकाले बिरामीहरुको लागि सवारी अभाव नहुने मल्लले बताउनुभयो ।
उपचार भन्दा पनि सचेतना महत्वपुणर् रहेकाले अहिले संचार माद्याम तथा अन्य माईकिङ, पम्प्लेट, घरदैलो लगायतका सचेतनाका कार्यक्रम समेत संचालन गरिएको पालिकाले जनाएको छ ।






