पर्वत- पर्वतको कुश्मामा निशुल्क वहृत स्वास्थ्य शिविर सम्पन्न भएको छ । पर्वत अस्पतालको आयोजना, फुकोओका जापानको आर्थिक सहयोग तथा पर्वत स्थित लायन्स र जेसीजको व्यवस्थापनमा शिविर संचालन गरिएको हो ।
शुक्रवार र शनिवार गरी दुई दिन सम्म सम्पन्न भएको शिविरमा विभिन्न ११ जना विशेषज्ञ डाक्टरहरुले सेवा प्रदान गर्नुभएको थियो । १७ सय ८३ जनाले सेवा लिएका छन् । रोग लुकाएर बसेका र टाढा गएर रोग निदान गर्न जान नसकेका विरामीहरुलाई लक्षित गरि शिविर आयोजना भएकाले बिरामीहरुको ठूलो भीड लागेको पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोबिन्द पहाडीले बताउनुभयो । उहाँले शिविरका कारण विरामीहरुले दैलोमै सेवा पाएको बताउनुभयो । शिविरमा नेपालकै चर्चित स्त्रीरोग, मानसिक तथा स्नायू, मुटु, हाडजोर्नी नशा, नाक कान घाँटी, दाँत रोगका विशेषज्ञ डाक्टरहरु खट्नुभएको थियो । शिविरमा जाँच र औषधी निशुल्क उपलब्ध गराइएको थियो । मुटुको इको, ईसिजी, भिडियो एक्सरे, ल्याव सम्बन्धि सेवा निशुल्क गरिएको पनि पहाडीले जानकारी दिनुभयो ।
शिविरमा मुटुको अपरेशन गर्नुपर्ने ६ जना व्यक्ति भेटिएका छन र पर्वत अस्पतालको अनुरोध र सिफारिसमा डा. अनिल भट्टराईले ति बिरामीहरुको निःशुल्क अपरेशन गर्ने व्यवस्था मिलाउने निणर्य भएको छ । त्यस्तै हाड जोर्नीका समस्या भएका २० जना विरामीले एम आर आई गर्नुपर्ने अवस्था भेटिएको छ भने ७ जनाको नाक कान घांटीको अपरेशन गर्नुपर्ने केस भेटिएका छन् ।
। रगतको समूह निर्धारण र मधुमेहको जाँच निशुल्क गरिएको छ भने अस्पतालमा हुने अरु आधारभूत सेवामा ५० प्रतिशत छुट दिईएको थियो । शिविरमा पर्वतको कुश्मा, फलेवास, मोदी, जलजला र विहादी देखि बागलुङको कुश्मिशेरा, जैदी र छिस्तीसम्मका विरामी आएका थिए ।