पर्वतको शंकरपोखरीमा माघ १ गते पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा आउँदै - News site from Nepal

पर्वत- पर्वतका शहीद हरिदत्त तिवारीको यस पटकको स्मृति सभामा नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने भएका छन्।
तिवारीको स्मरणमा स्थापना गरिएको शहीद हरिदत्त तिवारी स्मृति प्रतिष्ठानको आयोजना माघ एक गते फलेवास नगरपालिका ३ शंरकपोखरीमा आयोजना गरिने कार्यक्रमा देउवा पनि आउन लागेको कार्यक्रमको आयोजक मूल समितिका संयोजक तथा शहीदपुत्र गिरीजाप्रसाद तिवारीले बताए। २०६० सालमा तत्कालिन माओवादीका कार्यकर्ताहरुले तिवारीलाई घर नजिकैको जंगलमा लगेर घाइते बनाएपछि उपचारको क्रममा उनको मृत्यू भएको थियो। त्यसपछिको वर्षबाट शहीद तिवारीको सम्झनामा हरेक वर्ष बिभिन्न कार्यक्रमहरु गरिँदै आइएको छ।
केन्द्रिय सभापति नै कार्यक्रमको प्रमुख अतिथि बन्ने गरी आउने भएपछि नेपाली काँग्रेस पर्वतले कार्यक्रमको तयारीलाई तीव्र पारेको छ। यसका लागि नेपाली काँग्रेस फलेवास नगरपालिका ३ शंकरपोखरीको गाउँ कार्यसमितिको आयोजनामा आईतबार कार्यक्रमको तयारीका लागि समिति निर्माण गरिएका छन्।
कार्यक्रमलाई सफल पार्नको लागि शहीदपुत्र गिरीजाप्रसाद तिवारीको संयोजकत्वमा १ सय ५१ सदस्य मूल आयोजक समिति निर्माण गरिएको छ। यस्तै संचारका लागि रोशन तिवारी, मञ्च व्यवस्थापनको लागि खुमबहादुर नेपाली, खानाको व्यवस्थापनको लागि कृष्णप्रसाद तिवारी र स्वयंसेवक व्यवस्थापनको लागि सतिष रेग्मीको संयोजकत्वमा समितिहरु बनाइएको छ। यस्तै, कार्यक्रममा झाँकी तथा र्‍याली प्रर्दशन गर्नको लागि साविकको शंकरपोखरीको वडाहरुमा छुट्टा छुट्टै संयोजकहरु तोकिएको छ। जसमा साविकको वडा नं. १ को लागि बिजय थापा, २, ६ र ७ का लागि राजकुमार बि.क, ४ का लागि नारायणप्रसाद लामगाँदे, ५ का लागि शतिष रेग्मी, ३ का लागि हेमप्रसाद अधिकारी, ८ का लागि रामबहादुर नेपाली र वडा नं. ९ का लागि गोकुलप्रसाद भुषाल चयन हुनुभएको प्रचारप्रसार समितिका सचिव भागीरथ च्वाईँले जानकारी दिए।छलफलका लागि भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व साँसद अर्जुनप्रसाद जोशीले जनताको आसालाई पूरा गर्ने जिम्मेवारी नेपाली काँग्रेसको काँधमा आएको बताए।
दुई तिहाई बहुमत प्राप्त नेताले आप्mनो पार्टीलाई मिलाउन नसकेको स्वार्थमा संसद नै बिघटन गर्नुले नेकपाले देशका लागि काम गर्न नसक्ने पुष्टि गरेको बताउँदै नेता जोशीले अब नेकपालाई बहुमत दिनुको कुनै अर्थ नरहेको उल्लेख गरे। नेकपाको विवाद मिलाउनको लागि चिनीया राजदूत र मन्त्री बालुवाटार छिर्नुपर्ने अवस्था रहेको भए पनि काँग्रेस भित्रको बिबाद मिलाउनको लागि कोही छिमेकीलाई गुहार्नुपर्ने अवस्था नरहेको उनको भनाई छ।
नेकपाका कारण समस्यामा परेका नागरिकलाई अधिकार दिलाउँदै उनीहरुको अपेक्षा पूरा गर्न अब काँग्रेस बाहेकको बिकल्प नभएको पनि जोशीको भनाई थियो। शहीद हरिदत्तले बाँचुन्जेल जुनसकै दलका मान्छेका कामहरु पनि गरेका कारण उनको स्मृतिमा आयोजना गरिने कार्यक्रममा पनि सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु उपस्थित हुनुपर्ने उनले बताए।
कार्यक्रममा प्रतिष्ठानका प्रमुख संरक्षक, शहीदपुत्र तथा नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारीले नेपाली काँग्रेस जहिले पनि सिमान्तकृत, पिडित तथा पछाडि पारिएकाहरु लगायतको पक्षमा रहेको बताउँदै अब पनि देशका लागि काँग्रेसको नेतृत्व नै आवश्यक भएको बताए। वर्तमान सरकारको तानाशाही प्रवृत्तिले जनता आजित भएको भन्दै नेता तिवारीले अब काँग्रेसले जनताको घाउमा मल्हम लगाउनुको बिकल्प नरहेको उल्लेख गरे। कार्यक्रममा तत्कालिन शिक्षक यूनियनका सचिव बालकृष्ण बास्तोला, नेपाली काँग्रेस केन्द्रिय महिला विभाग सदस्य रेखा गुरुङ, मुस्लिम बिभाग सदस्य सनम बेगम, लगायतले पनि बोल्नुभएको थियो। नेपाली काँग्रेस शंकरपोखरी गाउँकार्यसमतिका सभापति अर्जुनबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नरबहादुर थापाले गर्नुभएको थियो। सोही अवसरमा नेता गंगाधर तिवारीको ६० औँ जन्मोत्सव समेत मनाइएको छ।
देउवा आउने कार्यक्रमको तयारीका लागि भएको छलफल कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरुको बीचमा केक काट्दै काँग्रेस महासमिति सदस्य तिवारीको जन्मोत्सव मनाइएको छोरा मानव तिवारीले बताए। कार्यक्रममा सहभागी भएकाहरुले नेता तिवारीले शंकरपोखरीबासीको पक्षमा काम गर्दै आएको खुसी व्यक्त गर्दै ६० औँ जन्मोत्सवले थप राजनीतिक सफलता मिलोस भनी शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!