आज २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस - News site from Nepal
आज २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

काठमाडौं ः आज २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ। २९९औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले विशेष कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाउदै छ ।
१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ। उनले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए। यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ।
२००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२(०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो। सरकारले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन छाडे पनि नागरिक स्तरबाट भने विभिन्न कार्यक्रम भने हरेक वर्ष हुने गरेका छन्।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

गोरखाका राजा पृथ्वीनारायणले नेपाल एकीकरणको जग बसालेको तथा विविध धर्म, संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सबल राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधारभूमि नेपाल एकीकरणले तयार गरेको जनाउँदै राष्ट्रपतिले बहुलताबीच सद्‌भावपूर्ण एकता हाम्रो राष्ट्रिय सामर्थ्यको सदुपयोग गर्दै अघि बढ्न सके मुलुकले विकासमा फड्को मार्ने विश्वास व्यक्त गर्नुभएको छ ।

पुर्खाको त्याग, बलिदान र समर्पणको जगमा निर्माण भएको राष्ट्रलाई समुन्नत बनाउने गहन दायित्व आज हाम्रो काँधमा आएको बताउँदै राष्ट्रपतिले आजको दिनले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, स्थिरता र समृद्धिका लागि सम्पूर्ण नेपालीलाई एकै सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि नेपाल सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प पूरा गरी आत्मनिर्भर र समाजवादोन्मुख सुदृढ अर्थतन्त्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीले गर्नुभएको छ ।

नेपाल विश्व मानचित्रमा सदैव एक स्वाधीन र सार्वभौम राष्ट्रका रूपमा रहिआएको छ । विसं १७७९ पुस २७ गते जन्मिनुभएका तत्कालीन गोरखाका राजा पृथ्वीनारायणले जनताको साथ र सहयोग लिँदै मुलुकभित्र उपलब्ध स्रोत र साधनको उपयोग गरी आपसी कलहमा फसेका ससाना राज्यलाई एकीकरण गर्न सफलता हासिल गर्नुभएको थियो । नागरिकको इच्छा र चाहनाबाट नै मुलुकको शासन सञ्चालन गर्नुपर्छ भन्ने मान्यतालाई उहाँले अनुसरण गर्नुभयो ।

नेपालको भूअवस्थितिको आत्मबोध गर्नुभएका पृथ्वीनारायणले राष्ट्रलाई सुदृढ र समृद्ध बनाउन तथा मुलुकको अविच्छिन्न एकतालाई बलियो बनाइराख्न सदा स्मरणीय सन्देश छाडेर जानुभएको छ । उहाँका उपदेशले राष्ट्रिय आत्मनिर्भरता हासिल गर्नका लागि आवश्यक सीप र क्षमता विकास गर्नुपर्ने खाँचोलाई दर्शाएका छन् ।-

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!