पर्वत – पर्वतका अव्यवस्थित बसोबासी र भूमीहिन सकुम्वासीहरुले आगामी असार सम्ममा घर बनाउने जग्गा पाउने भएका छन् ।
भूमी सम्बन्धि समस्या समाधान आयोगको जिल्ला कार्यालयले जिल्लाभर रहेका भूमीहिन तथा अव्यवस्थित बसोवास गरिरहेकाहरुलाई जग्गा दिने नीतिगत निणर्य अनुसार काम गर्न थालेको छ ।
असार सम्म लालपूर्जा वितरण गर्ने गरि काम प्रारम्भ भएको भूमी सम्बन्धि समस्या समाधान आयोगका अध्यक्ष देबेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । कुश्मा नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरु संग अभिमुखीकरण कार्यक्रम गर्दै आयोगका अध्यक्ष पाण्डेले पर्वतमा भूमी सम्बन्धि समस्या समाधानका लागि कार्यालयले काम अगाडी बढाएको बताउनुभएको हो ।
कुश्मा नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुलाई आयोगको कार्यविधि, जिल्लामा रहेका भूमी सम्बन्धि समस्या समाधान, पालिकाले गर्नुपर्ने कामहरुले बारेमा कार्यक्रममा जानकारी दिईएको छ ।
कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले भूमी सम्बन्धि समस्या समाधान आयोगको कार्यालय संग कुश्मा नगरपालिकाले सहकार्य गरि कामलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो । जोशीले भूमीहिन र सुकुम्वासीहरु लाई चाँडो व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताउँदै आयोगलाई निष्पक्ष तरिकाले काम गर्न पनि अनुरोध गर्नुभएको छ ।
उपप्रमुख सीता काफ्ले लामिछानेले कुश्मा नगरपालिकामा पनि भूमिहिन र सुकुम्वासीहरुको समस्या रहेको भन्दै उनीहरुको समस्या चाँडो व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा वडाका अध्यक्षहरु र कर्मचारीहरुले आ आफ्ना सुझाव राख्नुभएको थियो । पर्वतका स्थानीय तहहरुमा कार्यालयले अभिमुखीकरण कार्यक्रम गरेको छ ।
पहिलो चरणमा भूमीहिन र सुकुम्बासीहरुको लगत संकलन गर्न निर्देशन दिएको कार्यालयले विवरण प्राप्त भएपछि अनुगमन र रुजु गरेर वास्तविक पीडितलाई जग्गा व्यस्थापन गर्ने जनाएको छ ।