पर्वतको जलजलाका अध्यक्ष र उपाध्यक्षको गाडी एम्बुलेन्स बनाएर प्रयोग, कोभिडका बिरामीलाई सहज - News site from Nepal

पर्वत- पर्वतको जलजला गाउँपालिकाले कोरोना संक्रमित बिरामीहरू बोक्नका लागि अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको सवारी साधनलाई एम्बुलेन्सका रूपमा सञ्चालनमा ल्याएको छ ।
गाउँपालिकामा पछिल्लो समय कोरोना संक्रमितहरूको संख्या बढ्दै जान थालेपछि अध्यक्ष र उपाध्यक्ष पैदल हिडेर आफुले प्रयोग गर्ने सवारी बिरामीको प्रयोजनका लागि दिईएको हो । पालिकामा भएको एउटा मात्र एम्बुलेन्स पर्याप्त नभएको हुँदा आफूहरू चढ्दै आएको गाडीलाई बिरामीको सेवामा लगाएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले (रामकृष्ण) बताउनुभयो ।
अध्यक्ष मल्लले प्रयोग गर्ने बा २ झ ४२२२ को स्कर्पियो र उपाध्यक्ष सीमा गर्बुजा पुनले प्रयोग गर्ने ग१झ ४२२ नम्बरको बोलेरो गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गरिएको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।
जलजला गाउँपालिका भित्र कोरोना संक्रमणबाट अहिलेसम्म ३ जनाको ज्यान गइसकेको छ भने केहीको अवस्था गम्भीर रहेको छ । पालिकामा दोस्रो लहरमा ४५ जनामा कोरोना संक्रमण देखिएकोमा सक्रिय संक्रमित ३५ जना रहेको अध्यक्ष मल्लको भनाई छ ।
जसमा २९ जना होम आइसोलेसनमा रहनुभएको भने ६ जना बाग्लुङ, पर्वत र म्याग्दीका अस्पतालमा उपचाररत रहनुभएको छ ।
जलजला गाउँपालिकामा गएरातीदेखि निषेधाज्ञा समेत गरिएको छ । निषेधाज्ञा पूणर् रूपमा जनताहरूले पालना गर्न गाउँपालिकाले आग्रह गरेको छ ।


नागरिकको ज्यान जोगाउनु सवैभन्दा ठुलो दायित्व ठानेर आफुहरुले प्रयोग गर्दै आएको गाडीलाई समेत एम्बुलेन्सको रुपमा प्रयोग गरिएको अध्यक्ष मल्लले बताउनुभया । अब सवारी साधन नपाएर बिरामी अस्पताल जानवाट बञ्चित हुनुपर्दैन । ९ वटै वडाका नागरिकहरुलाई २४ सै घण्टा सेवा दिनेगरी जनप्रतिधि र कर्मचारी परिचालन गरिएको उहाँले बताउनुभयो ।
जलजला गाउँपालिकाले यस अघि कोभिड-१९ संक्रमणका समस्यामा परेका नागरिकहरुकलाई तत्काल उद्धार गर्न फोकल पर्सन समेत तोकिसकेको छ । यस बाहेक अध्यक्ष मल्ल, प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्मा लगायतको टोली पालिका क्षेत्रमा सचेतनाका लागि माइकिङ, पर्चा पम्प्लेट वितरण गर्दै र स्थानीयका समस्या बुझ्दै घरदैलो समेत गरिरहेको जलजलाका प्रवक्ता देविन्दबहादुर भण्डारीले जानकारी दिनुभयो ।
नागरिकलाई सचेतना फैलाउने काम मात्र होइन, कोरोना संक्रमित भएका घरका परिवारहरू बिचमा पुगेर ढाडस दिने, आत्मबल बढाउने लगायतका कामहरू गरिरहेको उहाँको भनाई रहेको छ ।
जलजलामा अक्सिजन सहितको २० वेडको कोरोना अस्पताल समेत संचालनमा आइसकेको छ । वडा नं. ८ को फर्सेमा अस्पताल संचालनमा ल्याएर बिरामीको भर्ना गर्न थालिएको अध्यक्ष यामबहादुर मल्लले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!