पर्वत-नेकपा एकाले पर्वतको पार्टी कर्यालयमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तस्विर राखिएको छ ।
नेकपाको कार्यालय रहेको भवन नेकपा एमालेको कार्यालयका रुपमा रुपान्तरण भएपछि एमाले अध्यक्ष ओलीको तस्विर राखिएको हो । प्रधानमन्त्री ओलीको नेतृत्वमै यो मुलुकको समृद्धि र विकास सम्भव भएको र उहाँ प्रधानमन्त्री भएपछि मुलुकमा धेरै परिवर्तन भएको बताउँदै कार्यालयमा तस्विर राखिएको युवा संघका नेता अर्जुन निर्जन पौडेलले जानकारी दिनुभयो । पार्टी भित्रैवाट कठिन परिस्थिति सिर्जना गर्दापनि धैर्य, साहस र अडान लिएर मुलुकको समृद्धि र विकासमा निरन्तर खटिने प्रधानमन्त्री ओलीको सम्मानका लागि तस्विर राखिएको उहाँले बताउनुभयो ।
नेकपा विभाजन भएपछि सर्वोच्च अदालतले साविक एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्किको बताएपछि पर्वतमा पनि एमाले ब्यूँतिएको हो । पार्टी कार्यकर्ताका लागि मात्र नभई सिङ्गो नेपालीहरुको निम्ति लोकप्रिय बनेका केपी शर्मा ओलीको तस्विर राख्दा पार्टी कार्यालयको गरिमा समेत बढ्ने भएकाले सवैले देख्नेगरी तस्विर राखिएको निर्जनले बताउनुभयो ।
तस्विर राखिएपछि पार्टी कार्यालयमा फोटो खिचाउनका लागि कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो । कार्यक्रममा पार्टीका विभिन्न नेताहरु, युवा संघ, अनेरास्ववियू, तथा जनप्रतिनिधिहरुको समेत सहभागिता रहेकोे थियो ।
यस अघि आजै विहान कार्यालयमा नेकपा एमालेको साईनवोर्ड समेत टाँगिएको थियो । अव यो कार्यालय पूर्ववत अवस्थामै फर्किकाले नेकपा एमालेका सवै गतिविधि कार्यालयवाट संचालन गरिने नेकपाका नेता गोविन्द पहाडीले जानकारी दिनुभयो ।