पर्वत- पर्वत जिल्लामा कोरोना भाईरस विरुद्धको दोस्रो चरणको खोप अभियान स्थगित गरिएको छ ।
पर्याप्त मात्रामा खोप नआउँदा दोस्रो दिनमै अभियान स्थगित गरिएको हो । आइतवारदेखि शुरु भएको अभियान अन्तर्गत पर्वतमा ६५ वर्ष माथिका बृद्धबृद्धाहरुलाई खोप लगाउने अभियान थालिएको थियो । यो चरणको अभियानमा जिल्लामा जम्मा ७ हजार डोज खोप भित्रिएको र दुई दिनको अवधिमा सवै सकिएकाले तत्काललाई स्थगन गरिएको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख भोजराज गौतमले जानकारी दिए । उनका अनुसार पर्वतमा ६५ वर्ष माथिका बृद्ध बृद्धाको संख्या १२ हजार भन्दा बढि रहेको छ ।
अझै ५ हजार भन्दा बढि डोज खोप अभाव भएकाले आजदेखिनै स्थगन गरिएको गौतमले बताए । ‘अव आवश्यक मात्रामा डोज आइसकेपछि मात्र पुनः खोप अभियान शुरु हुन्छ ।’ गौतमले भने ।
भारतवाट पर्याप्त खोप आइनसकेकाले पनि जिल्लामा उपलव्ध नभएको उहाँको भनाई रहेको छ । यो अभियान अन्तर्गत पर्वतमा ५५ वर्ष माथिका बृद्धबृद्धा, शिक्षक, चालक र सहचालक गरी साढे २ हजार जनालाई खोप लगाउने कार्यक्रम रहेको थियो । तर पर्याप्त डोज नआएकाले रोक्नुपरेको कार्यालयले जनाएको छ ।
यो चरण अन्तर्गत २३, २४ २५ गते लगाउने भनेर सुचना जारी गरिएको भएपनि खोप अभावले बिचैमा रोक्नुपरेको हो । पर्वतमा पहिलो चरणको अभियान अन्तर्गत झण्डै तीन हजार जनालाई खोप लगाईएको थियो । जसमा स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक, शब व्यवस्थापन टोली, कर्मचारी, सुरक्षा निकाय, पत्रकार र जनप्रतिनिधिलाई लगाईएको थियो ।
जिल्लाका ६१ वटै स्वास्थ्य संस्थावाट खोप अभियान थालिएकाले बृद्ध बृद्धाहरुको पनि उत्साहजनक सहभागिता रहेको थियो ।