पर्वत – पर्वतको महाशिला गाउँपालिकाले झण्डै रु.एक करोड रुपैयाको लागतमा सभाहल निर्माण गरेको छ ।
गाउँपालिकाले विभिन्न कार्यक्रमहरु संचालन गर्नका लागि एक तले बहुउद्धेश्यीय भवन निर्माण गरेको हो । गण्डकी प्रदेश सरकार र पालिकाको लागत साझेदारीमा रु ९८ लाख बराबरको भवन निर्माण भएको छ ।
वडा नं. ५ लुंखुदेउरालीको आहालेमा निर्मित भवनको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले शनिवार उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै मन्त्री बस्नेतले तीनै तहका सरकारले मुलुकको समृद्धि र विकासका लागि एकजुट भएर काम गरिरहेको बताउँनुभयो । संघ, प्रदेश र स्थानीय सरकारकै सक्रियताले मुलुकमा विकास निर्माणले गति लिएको बताउँदै सरकारलाई कामै गरेन भन्नेहरुले सडक, आँगन र खोलामा गएर हेर्न चुनौती दिनुभयो ।
मन्त्री बस्नेतले हरेक पालिका तथा वडा सम्म पुग्ने सडक स्तरोन्नती र कालोपत्रे, प्रत्येक घर घरमा धारा र हरेक खोलामा रहेका तुईन विस्थापन गरेर झोलुङ्गे पुल र मोटरेबल पुल निर्माण भैरहेको बताउनुभयो । सरकारले गरेका काम नदेख्नेहरुले मात्र आलोचना गर्ने गरेको उहाँको भनाई छ ।
उहाँले गण्डकी प्रदेशका ८० प्रतिशत घरमा एक घर एक धारा विस्तार भैरहेको, ८३ वटा स्थानीय तहमा सडकको सुविधा पुगेको बताउनुभयो । उहाँले गण्डकी प्रदेश काठे पोलमुक्त भैसकेको बताउँदै अब केहि समयभित्रै गण्डकी प्रदेशलाई उज्यालो जिल्लाको रुपमा घोषणा गर्ने तयारी भैरहेको बताउनुभयो । मन्त्री बस्नेतले प्रदेशका सवै जिल्लामा विद्युत सेवा पुगिसकेको र मुस्ताङवाट उज्यालो जिल्ला घोषणा अभियान थालिसकेको पनि बताउनुभयो ।
उहाँले सरकारले प्राथमिकताका आधारमा विकास निर्माणलाई अघि बढाएको बताउनुभयो । हामी प्राथमिकताका आधारमा विकास निर्माणलाई अघि बढाईरहेका छौ मन्त्री बस्नेतले भन्नुभयो-‘सिमीत श्रोत र साधनका कारण नागरिकहरुले चाहेजस्तो एकैपटक सवै ठाउँको विकास गर्न सक्ने अवस्था छैन ।’ मुख्य आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरेको उहाँको भनाई रहेको छ । दशकौमा हुन नसकेको विकास तीन वर्षमै भएको देखेर सरकारलाई घेराबन्दी गर्न थालेपछि संसद विगठन गर्नुपरेको बताउँदै मन्त्री बस्नेतले आगामी चुनावमा तयारीका साथ लाग्न आग्रह गर्नुभयो । उहाँले अब विस्तारै चुनावी माहौल सिर्जना हुन थालेको बताउँदै नयाँ जनादेशमा जानुनै मुलुकको प्रमुख आवशयकता भएको पनि बताउनुभयो ।
कार्यक्रममा महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले आफुहरु निर्वाचित भएपछि महाशीलाको विकासका लागि थुप्रै काम गरेको बताउनुभयो । उहाँले प्रदेश र संघीय सरकारसँगको सहकार्यमा पालिकाको समृद्धिका कामहरु चरणबद्ध रुपमा अघि बढेको पनि बताउनुभयो ।
कार्यक्रममा विहादी गाउँपालिकाका अध्यक्ष कमल भुसाल, जिल्ला समन्वय समितिका सदस्य विष्णुराम विक, वडा नं. १ का अध्यक्ष इश्वरीप्रसाद भुसाल, नेपाली काँग्रेसका पालिका सभापति डिल्लीराम पौडेल, राष्ट्रिय जनमोर्चाका कृष्ण क्षेत्री, महेन्द्रज्योति माविका व्यवस्थापन समिति अध्यक्ष एक बहादुर हमाल, समाजसेवी लक्ष्मीप्रसाद उपाध्याय लगायतले बोल्नुभएको थियो । कार्यक्रममा स्वागत प्रमुख प्रशासकिय अधिकृत बुद्धिराम उपाध्याय र संचालन प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष जीवन विक्रम उच्चैले गर्नुभएको थियो ।