पर्वत- कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाले कृषिको व्यवसायिककरण, कृषकहरुको क्षमता अभिबृद्धि र उत्पादन बढाउने विषयमा प्रतिबद्ध हुने बताउनुभएको छ ।
कार्यालयमा नयाँ प्रमुखको रुपमा आउनुभएका थापाले आज पत्रकार संग कार्यालयको आगामी योजना र आफ्नो कार्ययोजना बारे प्रष्ट पार्नुभयो । उहाँले अघिल्लो कार्यालय प्रमुख बासुदेव रेग्मीले बनाएको जगमा टेकेर काम गर्ने बताउँदै जिल्लामा विगतमा हुन नसकेका नयाँ कामको पनि शुरुवात गर्ने जनाउनुभयो । कृषकलाई वितरण गर्ने अनुदानका कार्यक्रम, प्राविधिक सल्लाह, बजारीकरणको खोजी लगायतका कुरामा बढि ध्यान दिएर कुनै कमजोरी नहुने किसिमले काम गर्ने उहाँले बताउनुभयो । कृषि ज्ञान केन्द्रलाई व्यवहारिक प्रयोगशालाको थलो बनाउने आफ्नो प्रतिबद्धता पनि उहाँले सुनाउनुभयो ।
पर्वतको वस्तुस्थिती र भूगोलको बारेमा अझ धेरै कुरा सिक्न बाँकी रहेको भन्दै कृषि ज्ञान केन्द्रका प्रमुख थापाले आफु संधै इमान्दार भएर काममा लाग्ने जानकारी दिनुभयो । पर्वतमा कृषि क्षेत्रमा गर्नुपर्ने कामहरुको बारेमा पत्रकार संग उहाँले सुझाव समेत माग्नुभयो । किसानहरुका कुरा मिडिया सम्म ल्याएर कार्यालयलाई पृष्ठपोषण प्रदान गर्न पनि प्रमुख थापाले आग्रह गर्नुभएको थियो ।
करिब एक दशक सम्म पर्वतमा कृषि विकास कार्यालयको बरिष्ठ कृषि विकास अधिकृत र संघीयता पछि कृषि ज्ञान केन्द्रको प्रमुख भई बासुदेव रेग्मी कृषि विकास निर्देशनालय पोखरामा सरुवा भई गएपछि थापा गोरखा स्थित कृषि ज्ञान केन्द्रबाट पर्वतको ज्ञान केन्द्रमा प्रमुखको रुपमा सरुवा भई आउनुभएको हो ।
कार्यक्रममा पत्रकार महासंघ पर्वतका सचिव गणेश गिरीले ब्यवसायीक उत्पादनमा लागेका कृषकहरुलाई सहज ढङगले सरकारी अनुदान उपलब्ध गराउन भूमिका खेल्न आग्रह गरेका थिए । उनले पछिल्लो दिनमा ब्यवसायीक खेती गर्ने कृषकहरुको संख्यामा बृद्धि हुँदै गएको भन्दै ति कृषकहरुलाई राज्यले सहयोग गर्नुपर्ने धारणा राखे । स्थानीय तह र प्रदेशका कार्यालयका वीचमा समन्वयको अभाव सृजना भएकाले कृषकहरुले दुःख र सास्ती बेहोरी रहेको गिरीको भनाई थियो । गिरीले विगतका कार्यालय प्रमुखले शुरुवात गरेको कृषकसंगको निकटको सम्बन्धलाई कार्यालयले सधै निरन्तरता दिनुपर्ने सुझाब दिएका थिए ।
कार्यक्रममा पर्वत जिल्लाका क्रियाशिल सञ्चारकर्मीहरुले प्रश्न तथा सुझाब दिएका थिए । यस अघिका कार्यालय प्रमुख बासुदेव रेग्मीको सरुवा भएर प्रदेश कृषि निर्देशनालयमा गए पछि थापा कार्यालय प्रमुखको रुपमा पर्वत आएकी हुन् । गत बर्षसम्म प्रदेश सरकारको नीति बमोजीम पर्वत र बागलृुङ जिल्ला कार्यक्षेत्र बनाउँदै आएको कृषि ज्ञान केन्द्र यस बर्ष देखि भने पर्वतमा मात्रै कार्यक्षेत्र बनाएको छ ।