पर्वत अस्पतालले पत्रकारको उपचारमा ४० प्रतिशत छुट दिने - News site from Nepal
पर्वत अस्पतालले पत्रकारको उपचारमा ४० प्रतिशत छुट दिने

पर्वत : पर्वत अस्पतालले पत्रकारहरूको उपचारमा ४० प्रतिशत छुट दिने भएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेलका अनुसार नेपाल पत्रकार महासंघ पर्वत शाखाले पत्रकारको उपचारमा सघाउनका लागि अनुरोध गरेपछि महासंघ र अस्पतालको बिचमा सम्झौता गर्ने गरी प्रक्रिया अगाडि बढाइएको हो। यसका लागि गत भदौमा नै अस्पतालको पुरानो समितिले निर्णय गरेको थियो।

‘महासंघ र अस्पतालको बिचमा यसबारेमा सहमति भइसकेको छ। प्रक्रिया अगाडि बढेर पनि सम्झौता भने भएको छैन। सम्झौता भएपछि यसलाई कार्यान्वयनमा लैजान्छौँ,’ उनले भने, ‘के के कुरामा छुट दिने भन्ने पनि निर्णय भएको छैन। अस्पताललाई पनि मार नपर्ने र पत्रकारलाई पनि राहत हुने गरी सम्भव भएका सेवामा छुट दिन सकिन्छ।’

औषधिहरू महँगो हुने तथा कतिपय परीक्षणहरूको शुल्क बढी लाग्ने भएकाले अस्पतालले खर्च धान्न नसक्ने अवस्था आउने हुँदा औषधिमा छुट दिन नसकिने बताउँदै डा. पौडेलले अहिलेसम्मको तयारीमा मुटुको जाँच, भिडियो एक्स रे, एक्स रे, रगत परीक्षण, दिसा तथा पिसाव परीक्षण, सामान्य जाँच लगायतमा छुट दिन सकिने बारेमा छलफल भइरहेको बताए।

थाइराइड, सुगर लगायतका परीक्षणहरू महँगो हुँदा अस्पतालको बजेटले नै धान्न नसक्ने भएकाले ती परीक्षणमा भने छुट नहुने उनको भनाई छ। अरूको लागि समाचार लेख्दै हिँड्ने पत्रकारहरू समेत आर्थिक समस्यामा रहने र अरूका लागि काम गर्नेहरूलाई अस्पतालले पनि केही गर्न पाउनु खुसीको कुरा भएको डा. पौडेलले बताए।

अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गोविन्द पहाडीले अघिल्लो सरकारले पत्रकारहरूको उपचारमा ५० प्रतिशत छुट दिने गरी नीति तथा कार्यक्रममा घोषणा गरेको भए पनि त्यसबारे कुनै कार्यविधि नआएका कारण अस्पताल आफैले खर्च बेहोर्ने गरी गत भदौमा यो निर्णय गरेको बताए। संघीय तथा प्रदेश सरकारले यस सम्बन्धमा कार्यविधि नबनाएकाले अस्पतालको आन्तरिक आम्दानीबाट व्यहोरेर उपचारमा सघाउने निर्णय भएको उनको भनाई छ।

‘नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त गरेका पर्वतका क्रियाशील पत्रकारहरूका लागि यो सुविधा उपलब्ध गराउन लागिएको हो। तीनै तहका सरकारहरूले यो काम नगरे पनि अस्पताल आफैले भए पनि गरेमा राम्रो हुने ठानेर यो निर्णय गरिएको हो,’ पहाडीले भने, ‘समाजलाई सत्य तथ्य सूचना दिएर सचेतना जागृत गर्ने तथा सूचना प्रदान गर्ने पत्रकारहरूलाई प्रोत्साहन गर्नका लागि यो निर्णयले काम गर्छ।’

महासंघ र अस्पतालबीचसम्झौता भएपछि कार्यान्वयनमा आउने यो कार्यक्रममा पर्वतमा क्रियाशील भई पत्रकार महासंघ पर्वतको सदस्य बनेका पत्रकारहरू मात्र समावेश हुने अस्पताल प्रशासन बताउँछ। पत्रकारलाई दिएको छुट सुविधा लिनकै लागि बाह्य जिल्लाका महासंघ सदस्य पत्रकार आएमा अस्पतालले खर्च धान्न नसक्ने भएकोले पर्वत महासंघमा आबद्ध भएकाहरूको लागि मात्र छुट सुविधा दिन लागिएको हो।

पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाले संघीय सरकारले बजेटमा घोषणा गरे पनि कार्यान्वयनमा नल्याएको अवस्थामा पर्वत अस्पताल आफैले भए पनि यो कार्यक्रम लागू गरोस् भन्ने हेतुले महासंघको तर्फबाट राखिएको प्रस्ताव अस्पतालले स्वीकार गर्नु खुसीको कुरा भएको बताए।

कोभिड–१९ को सङ्क्रमणका कारण उत्पन्न परिस्थितिले पत्रकार र सञ्चार गृहलाई ठुलो असर गरेको बेलामा यही छुटले पनि श्रमजीवी पत्रकारहरूको उपचारमा धेरै राहत हुने उनको भनाई छ। पत्रकार महासंघ पर्वत शाखामा सदस्य रहेका पत्रकारहरूको संख्या ५४ रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!