पर्वत अस्पतालमा कोरोना महामारीमा पनि १३५ वटा सफल शल्यक्रिया - News site from Nepal

पर्वत : पर्वत अस्पतालको सेवा, सुविधा, साधन र स्रोतको वृद्धि भएपछि कोरोनाको महामारी चलिरहेकै अवधिमा पनि एक सय ३५ जना बिरामीको विभिन्‍न शल्यक्रिया गरिएका छन्।

अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार कोरोनाको दोस्रो महामारी सुरु भएपछिको डेढ महिना अवधिमा १३ जना गर्भवतीको जटिल खालको सफल शल्यक्रिया गरिएको छ। गत साउनदेखि जेठ २० गतेसम्म कुल ६६ वटा जटिल प्रकृतिको सुत्केरीको शल्यक्रिया गरिएको छ भने हर्नियाको १० वटा, हाइड्रोशीलका दुई वटा र एउटा एपेन्डीसाइटीसको शल्यक्रिया गरिएको छ। सोही अवधिमा ५६ वटा माइनर शल्यक्रियाहरू गरिएका छन्।

‘गत वर्ष पनि कोरोनाको महामारी कायमै रहेको बेलामा शल्यक्रिया सेवा पनि सञ्चालन भएका थिए। अहिले दोस्रो लहर चलिरहेको बेलामा पनि बिरामीलाई सेवा दिनको लागि हामीहरू लागिरहेका छौँ।’ उपाध्यायले भने, ‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरू इमानदारीपूर्वक सेवामा लागिरहेका कारण यो सम्भव भएको हो। जोखिमको माझमा पनि बिरामीलाई सेवा दिनु हामीहरूको कर्तव्य हो।’

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले पर्वतवासीहरू सामान्य शल्यक्रियाका लागि पोखरा जान बाध्य हुँदै आएकोमा पछिल्ला वर्षमा भने त्यो बाध्यता हट्दै गएको बताउँछन्। अस्पतालको स्तरोन्नति गर्दै सेवा सुविधा पनि थप भएपछि एमडिजिपी चिकित्सक सहितको टोलीबाट शल्यक्रियाका कामहरू भइरहेको उनको भनाइ छ।

‘अहिले अस्पतालको स्तरोन्नति गरिएको छ। पोखराका स्वास्थ्य संस्थाहरूमा प्राप्त गर्न सकिने विभिन्न स्वास्थ्य सुविधाहरुको व्यवस्थापन पर्वत अस्पतालमा नै गरिएको छ। अहिले सामान्य अवस्थामा बिरामीहरूलाई पोखरा वा अन्य अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता हटेको छ।’ पहाडी भन्छन्, ‘कोरोना कहरको यो विषम परिस्थितिमा पनि पर्वत अस्पतालले मिर्गौला डायलिसिस, प्रसूति सेवा तथा इमरजेन्सी सेवालाई नियमित रूपमा सञ्चालन गरिएको छ।’

जस्तै विषम परिस्थितिमा पनि नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सेवा दिइएका कारण कोरोना महामारीको बीचमा शल्यक्रियालगायत सेवाहरू दिन सकिएको उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!