पर्वतको बाजुङमा नेपाली सेनाको सहयोगमा घरघरमा खानेपानी सुविधा - News site from Nepal

पर्वत – नेपाली सेना केवलजंग गुल्मको सहयोगमा पर्वतको मोदी गाउँपालिका वडा नं. ५ बाजुङको ओखलढुंगा बस्तीमा खानेपानी आयोजना सञ्चालनमा आएको छ । सेनाको रु. १० लाख र मोदी गाउँपालिका रु.२ लाख गरी रु.१२ लाखको लागत तथा १ लाख बराबरको जनश्रमदानमा उक्त योजना सम्पन्न भएको हो ।
स्वच्छ खानेपानीको समस्या झेल्दै आएका ओखलढुंगा बासीहरुका लागि करिव २ महिनाको अन्तरालमा खानेपानी योजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको हो । विगतका समयमा खानेपानी पर्याप्त नहुँदा समस्यामा परेका ओखलढुंगाका २२ घरपरिवारका लागि अहिले घरघरमा खानेपानीका धारा सञ्चालनमा आएका छन् । खोलाबाट पाइपमा पानी ल्याएर गाउँमा दुई वटा मात्रै धारा सञ्चालनमा ल्याइएको र सोही पानीलाई सवै परिवारले उपभोग गर्दै आएकोमा नेपाली सेनाले आयोजना सञ्चालनमा ल्याएपछि स्थानीयबासीहरुलाई राहतको महसुस भएको स्थानीयबासी कृष्णबहादुर क्षेत्रीले बताउनुभयो ।


कार्यक्रममा खानेपानी आयोजनाको नेपाली सेना पश्चिम पृतना हेडक्वाटरका पृतनापति विनय विक्रम राणा र मोदी गाउँपालिकाका प्रमुख प्रेम पौडेलले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा पृतनापति राणाले नेपाली सेना सदैव जनताको साथमा रहेको बताउँदै सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा समाजमा प्रभावपर्ने कार्यहरु सेनाले सञ्चालन गर्दै आएको कुरा स्पष्ट पार्नुभयो ।
त्यस्तै मोदी गाउँपालिका पर्वतका अध्यक्ष प्रेम पौडेलले नेपाली सेनाको सामाजिक सेवा भाव प्रतिको जागरुकताको कदर गर्दै साँच्चिकै समस्यामा परेका नागरिकलाई सेनाले सदैव सहयोगी भाव दर्शाउन समेत अनुरोध गर्नुभएको थियो । त्यस्तै प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले समेत नेपाली सेनाले गरेको कार्यको प्रसंसा गर्नुभएको थियो ।
उक्त आयोजनाबाट मोदी गाउँपालिका ५ बाजुङ ओखलढुंगा गाउँका २२ परिवार सहित १ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु लाभान्वित हुने भएका छन् । समुदायको माग बमोजिम नेपाली सेना र समुदायको सक्रियता सँगै मोदी गाउँपालिकाको समन्वयमा खानेपानी आयोजना समयमा नै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको केवल जंग गुल्म पर्वतका गुल्मपति रमेश थापाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!