पर्वत : विद्यालयहरुको शैक्षिक विकास तथा विभिन्न कार्यक्रमहरुको कार्यान्वयनको विषयमा पर्वत सदरमुकाम कुस्मा बजारमा प्रधनाध्यापकहरुको संयुक्त बैठक सम्पन्न भएको छ ।
कुस्मा नगरपालिका अन्तर्गत नगर शिक्षा शाखाको आयोजनामा कुस्मा नगरपालिकाभित्र रहेका ६७ ओटा सामुदायिक विद्यालका प्राधानाध्यापकहरु सहित कुस्मा नगरपालिकाको कार्यालयका विभिन्न पदाधिकारीहरुको बीचमा संयुक्त बैठक सम्पन्न भएको हो । बैठकमा विद्यालयमा दिवा खाजा कार्यक्रम, शिक्षकहरुको दरबन्दी मिलान, कक्षा ८ को अन्त्यमा लिईने आधारर्भूत तह उत्तिर्ण परीक्षा, विद्यालयमा छात्राहरुको लागि सेनेटरी प्याडको व्यवस्थापन, विद्यालयको लेखा परीक्षण, विद्यालयहरुले हाल भोगीरहेका समस्या लगायतको विषयमा छलफल भएको नगर शिक्षा अधिकृत बिष्णुप्रसाद तिवारीले बताए ।
कार्यक्रममा बोल्दै कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले कोरोना भाइरसको प्रत्ययक्ष असर विद्यालय र शिक्षा क्षेत्रमा परेको बताउँदै अब विस्तारै विद्यालय खुल्दै जानु खुसीको कुरा भएको बताए । कुस्मा नगरपालिका शिक्षाको विकासको लागि बिभिन्न कार्यक्रम तथा योजना बनाउन तयार रहेको बताउँदै नगरप्रमुख जोशीले कुस्मा नगरपालिकाका कोही पनि जनप्रतिनिधिले आफ्नो निहीत स्वार्थको लागि विद्यालयमा कुनै पनि खालको दबाब वा हस्तक्षेप नगर्ने बताए । यस्तै उपप्रमुख सिता काफ्ले लामिछानेले पनि शिक्षा क्षेत्रमा राजनीतिकरण भएमा शिक्षामा गुणस्तर नआउने बताउँदै कुस्मा नगरपालिकाले शिक्षाको क्षेत्रमा पनि स्वतन्त्र रहेको बताईन् । नगरपालिकाभित्रका विद्यालयका शैक्षिक र भौतिक गुणस्तर माथि उकास्न नगरपालिका जहिले पनि तयार रहेको उनको भनाई थियो ।
यस्तै कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीले कुस्मा नगरपालिकाका जनप्रतिनिधिहरु शिक्षाको विकासको विषयमा चिन्तित रहेको बताउँदै कहीँ कतैबाट पनि हस्तक्षेपकारी भूमिका नआउनु खुसीको कुरा भएको बताए । विद्यालयमा कार्यरत प्रधानाध्यापक तथा शिक्षकहरुको काम चुनौतीपूर्ण रहेको भए पनि देशका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने काम शिक्षकको नै भएकोले शिक्षक समाजको महत्वपूर्ण पात्र भएको उल्लेख गरे । कुस्मा नगरपालिकाका विद्यालयहरुको समष्टीगत विकासको लागि कुस्मा नगरपालिकाले स्रोतले भ्याएसम्म आवश्यक सबै खालका सहयोग उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत पंगेनीको भनाई छ ।
कार्यक्रममा बोल्दै कुस्मा नगरपालिका अन्तर्गतको सामाजिक विकास समितिका संयोजक शिवप्रसाद पौडेलले राजनीतिकर्मीहरुले कहिल्यै पनि कर्मचारीतन्त्र वा शिक्षा क्षेत्रमा हस्तक्षेप गर्न नहुने बताए । नगरपालिकाको सामाजिक विकास समितिले यस अगाडि शिक्षक तथा विद्यालयहरुबाट आएका गुनासाहरुको सम्बोधन गरीरहेको उल्लेख गर्दै फेरि पनि शिक्षकहरुको समस्या समाधानको लागि आफूहरु लागिरहने प्रतिबद्धता व्यक्त गरे । दरबन्दी मिलानको मुद्धा टड्कारो आवश्यकता भएको र मिलान हुन नसक्दा विद्यार्थीको चाप बढी भएका विद्यालयमा शिक्षक संख्या कम हुनुले शैक्षिक गुणस्तर कायम गर्न चुनौती भइरहेको संयोजक पौडेलको भनाई छ ।
कार्यक्रममा प्रधानाध्यापकहरुको तर्फबाट उठेका जिज्ञासा र गुनासाको सम्बोधन गर्दै नगर शिक्षा शाखाका प्रमुख बिष्णुप्रसाद तिवारीले आफूले जहिले पनि सकारात्मक सोचका साथ नगरभित्र शिक्षाको विकासको लागि काम गरिरहेको बताए । विद्यालयले नगर शिक्षा शाखाबाट विभिन्न सहयोगको अपेक्षा राख्नु स्वभाविक भए पनि कतिपय नीतिगत समस्याका कारण पनि सधैँ सहयोग गर्न सकिने अवस्था नरहने उनको भनाई छ । नगर शिक्षा शाखाले दरबन्दी मिलानको कामको लागि आवश्यक तयारी गरिरहेको बताउँदै शिक्षा शाखा प्रमुख तिवारीले नेपाल सरकारकै कार्यक्रम अनुसार दरबन्दी मिलान हुन लागेकोले यसलाई कसैले पनि अस्वीकार गर्न नहुने उल्लेख गरे ।
यस्तै कुस्मा नगरपालिकाको कार्यालयका लेखा अधिकृत कमलराज पौडेलले कतिपय विद्यालयहरुले आयव्यय सम्बन्धि राखेका हिसावकितावहरु अस्पष्ट रहेको बताउँदै बेरुजु नआउने गरी काम गर्न प्राधानाध्यापकहरुलाई अनुरोध गरे । कतिपय विद्यालयहरुले ४ वर्षदेखि लेखा परीक्षण नै नगराएको भेटीनु दुःखद भएको बताउँदै उनले अब पनि लेखा परीक्षण नगरिएमा त्यस्ता विद्यालयको सेवा तथा सुबिधा कटौती गर्नुपर्ने बाध्यता रहेको उनको भनाई छ ।
बैठकमा नारायाण माध्यामिक विद्यालय कुस्माका निमित्त प्राधानाध्यापक गोविन्दप्रसाद पोखरेल, हिमालय मा.वि. खुर्कोटका प्रधानाध्यापक माधवप्रसाद रेग्मी, मंगलोदय मा.वि. चुवाका प्राधानाध्यापक नागेश्वर उपाध्याय, कालिका मा.वि. खुर्कोटका प्रधानाध्यापक बाबुराम सुवेदी, शिवालय मा.वि. कुस्माका शिक्षक चिरञ्जीवी सुवेदी, शुभकल्याण आधारभूत विद्यालय आर्थरका प्राधानाध्यापक सुरेन्द्र शर्मा गौतम, लगायतले पनि आफ्ना भनाई राखेका थियो ।
सामाजिक विकास समितिका संयोजक शिवप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नारायण माध्यामिक विद्यालय कुस्मा शिक्षक संजय रेग्मीले गरेका थिए ।