पर्वतको कुर्घाका २८ वर्षिय युवा विपिनको अमेरिकामा दुःखद निधन, शव नेपाल ल्याईँदै - News site from Nepal

पर्वत – रोजगारीका लागि अमेरिका पुगेका पर्वतका एक युवाको निधन भएको छ । पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं. १० कुर्घाका २८ वर्षीय विपिन लम्सालको उपचारका क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा साउन १२ गते निधन भएको हो ।
विगत ५ बर्षअघि मात्र अमेरिका पुग्नुभएका लम्साल अमेरिकाको न्यूयोर्कस्थित ग्र्याण्ड एभिन्युमा बस्दै आउनुभएको थियो । अचानक स्वास्थ्यमा समस्या देखिएपछि गत मंगलबार उहाँलाई नजिकैको एल्महर्स्ट अस्पताल लगिएको थियो । उपचारको क्रममा उहाँको मृत्यु भएको खबर प्राप्त भएको मृतकका दाजु दिपेन्द्र लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले मृतक लम्सालको शव अस्पतालमा नै रहेको छ । हृदयघातका कारण मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।
गैरआवासीय नेपाली संघ अमेरिकाको न्यूयोर्क शाखाका अध्यक्ष आङ्गछिरिङ्ग शेर्पालाई उद्धृत गर्दै मृतकका दाजु दिपेन्द्र लम्सालले शव नेपाल ल्याउनका लागि प्रकृया पुरा भैसकेको बताउनुभयो । अबको २/३ दिनमा शव नेपाल आइसक्ने जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।
सुन्दर सपना सजाएर अमेरिका पुगेका परिवारका एक्ला छोरा विपिन लम्सालको २८ वर्षकै उमेरमा असामयिक निधन भएपछि अहिले परिवार सँगै सिंगो गाउँ विक्षिप्त बनेको छ । मृत्युको खबरले बाबु पोषराज लम्साल र आमा भावविह्व बन्नुभएको छ ।
उहाँ विगत ६ महिना अघि मात्र विवाह बन्धनमा बाँधिनुभएको थियो । विपिनका बुवा पोशराज लम्सालले छोराको शव नेपाल पठाईदिन एनआरएनए समक्ष माग गर्नुभएको थियो । परिवारको अनुरोध पछि गैरअवासीय नेपाली संघ अमेरिकाका वर्तमान अध्यक्ष बुद्धिसागर सुवेदीले अमेरिका स्थित नेपाली दुतावास, मेरिल्याण्ड राज्यका विधान सभा सदस्य ह्यारी भण्डारी (साविक पर्वत निवासी) र न्यूयोर्क च्याप्टरसँग समन्वयमा प्रकृया पुरा गरेर शव ल्याउने तयारी भैरहेको बताउनुभएको छ ।
यसैबीच लम्सालको दुःखद घटनाप्रति एनआरएनए अमेरिकाले समेत दुःख व्यक्त गरेको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ ।
एनआरएनए न्यूयोर्क च्याप्टरले नेपाल पठाउन लाग्ने खर्च व्यवस्थापनका लागि गोफण्डमार्फत सहयोगका लागि अपिल समेत गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!