बहुचर्चित कालीगण्डकी करिडोरको पर्वत खण्डमा कालोपत्रेको काम शुरु , राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्धारा शिलन्यास - News site from Nepal

पर्वत –  दुई छिमेकी मुलुक भारत र चीन जोड्ने सवैभन्दा छोटो राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत पर्वत खण्डमा कालोपत्रे तथा स्तरोन्नतीको काम शुरु भएको छ । पर्वत खण्ड अन्तर्गत रानीपानी-कुर्घा फलेवास खण्डको २३ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य आइतवारदेखि प्रारम्भ गरिएको हो ।
धार्मिक एवम् पर्यटकीय दृष्टिकोणले महत्वपुणर् मानिएको कालीगण्डकी करिडोर अन्तर्गतको यो खण्ड आगामी दुई वर्ष भित्रमा कालोपत्रे हुने भएको छ । आयोजनाको नियमीत कामका लागि सहजीकरण भएमा, आवश्यक निर्माण सामाग्रीको अभाव नभएका ढिलासुस्ती नहुने कालीगण्डकी करिडोर आयोजनाका प्रमुख सुवोध देवकोटाले जानकारी दिनुभयो ।
पर्वतको बिहादी गाउँपालिका वडा नं. ३ रानीपानीदेखि फलेवास नगरपालिकाको ढिकसम्मको खण्डका लागि आवश्यक बहुबर्षिय ठेक्का अन्तर्गत रु.१ अर्ब २३ करोड रुपैयाँ बजेट बिनीयोजन भएको हो ।
बजेट बिनीयोजन सँगै बहुवर्षीय ठेक्काका लागि समेत अर्थमन्त्रालयले स्विकृत दिएपछि सडक कालोपत्रेको काम शुरु हुन लागेको हो । सवै प्रकृया पुगेकाले अवको दुई सातापछि सडक कालोपत्रेको काम तीब्र गतिमा हुने आयोजना प्रमुख सुवोध देवकोटाले जानकारी दिनुभयो ।
कालीगण्डकी करिडोरको पर्वत खण्डको महत्वपूणर् मानिएको रानीपानी-कुर्घा खण्डको ठेक्का निश्चित भएपछि बिहादी र फलेवासका स्थानीय समेत हर्षित बनेका छन् ।


यसैबीच पर्वतको फलेवास नगरपालिका वडा नं. ६ देविस्थानको ढिकमा आइतवार आयोजित एक कार्यक्रमका बीच आयोजनाको शिलन्यास गरिएको हो । कालोपत्रे कार्यको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलन्यास गर्नुभएको छ । सडक शिलन्यास गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफुले निर्वाचन अघि गरेका बाचाहरु पुरा हुँदै गएको बताउनुभयो । उहाँले अव पर्वत जिल्ला सडक सञ्जालले समृद्ध बनेको बताउँदै कुनैपनि पालिका र वडाहरुमा जाँदा कच्ची बाटोमा हिड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो ।
यो पर्वत जिल्लाको मात्र नभएर राष्ट्रिय महत्वको आयोजना भएकाले समयमै काम सम्पन्न गर्न उहाँले आयोजनालाई निर्देशन समेत दिनुभएको छ ।
अर्को प्रसंगमा अध्यक्ष तिमिल्सिनाले मुलुक समृद्धिको दिशामा अघि बढिरहेका बेला बहुमतको सरकारलाई काम गर्न नदिईएको प्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले दलहरु मिलेर अघि बढ्नुपर्ने बताउँदै व्यक्तिगत स्वार्थ र लाभका लागि कलझगडा गर्न नहुने बताउनुभयो । उहाँले जनताको विश्वासमाथि घात गर्नेहरुलाई खवरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदम गिरीले पर्वत जिल्लाको विकास निर्माणले दिन दोगुना, रात चौगुना फड्को मार्दै गएको बताउनुभयो । उहाँले यो सरकारको मुख्य लक्ष्य नै मुलुकको समृद्धि र विकास मात्र भएको बताउँदै सरकारले गरेका जनमुखि कामदेखि अत्तिालिएर पार्टीभित्रकै शिर्ष नेताहरुले गिराउने चलखेल गरेको बताउनुभयो । उहाँले यहि सरकारवाट मात्र मुलुकको समृद्धि सम्भव भएकाले सवैको साथ र सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले कालीगण्डकी करिडोर आयोजनाका लागि आफु लामो समयदेखि निरन्तर लागिरहेको बताउँदै यो सडकले पुणर्ता नपाउने बेला सम्मआफुले विश्राम नलिने बताउनुभयो । उहाँले अबको दुई वर्ष भित्रमा पर्वत खण्ड पुणर् रुपमा सम्पन्न हुनेगरी काम गर्न आयोजनालाई आग्रह गर्नुभयो । भारती र चिनिया पर्यटकहरुलाई नेपाल भित्र्याउन तथा धार्मिक रुटको रुपमा यो सडकलाई विकास गरिने मन्त्री लम्सालको भनाई रहेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बि पौडेल, फलेवास नगरपालिकाका नगरप्रमुुख पदमपाणी शर्मा, विहादी गाउँपालिकाका अध्यक्ष कमल भुसाल लगायतले सडक समयमै सम्पन्न गर्न र तोकिएको मापदण्ड र गुणस्तरमा कमि हुन नदिन आग्रह गर्नुभयो ।
यो सडकका लागि सुरूवातदेखि टेण्डर प्रक्रियासम्म पुर्‍याउनका लागि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पहल गर्दै आएका थिए । उनिहरुले आयोजनको कार्यालयदेखि, सडक विभाग, भौतिक मन्त्रालय, योजना आयोग, हुँदै अर्थ मन्त्रालयसम्म पहल गर्नुभएको थियो ।
करिडोर आयोजना पाल्पाका प्रमुख सुवोध देवकोटाले आगामी दुई वर्ष भित्र यो २३ किलोमिटर मात्र नभएर स्याङ्जाको मिर्मिदेखि पर्वतको अर्मादीसम्मको सडक खण्ड आगामी दुई वर्ष भित्रमा कालोपत्रे सम्पन्न गर्ने बताउनुभयो ।
उहाँले सडकको गुणस्तरमा कुनै सम्झौता नहुने बताउँदै ठेकेदारलाई तदारुकताका साथ काम गराउन पहल गर्ने बताउनुभयो । उहाँले उक्त खण्डको लमाएखोलामा मोटरेबल पुल निर्माणमा त्रुटि भएको भन्दै पुन अर्को पुल निर्माणका लागि पहल गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!