पर्वत- राष्ट्रिय गौरबको कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजना अन्तर्गत २२० केभी क्षमताको पर्वतको कुश्मा नगरपालिका वडा नं. २ खुर्कोट स्थित सवस्टेशन उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली पर्वत आउनुहुने भएको छ ।
यहि माघ २२ गते बिहीवार दिउँसो आयोजना गरिएको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओली आउने निश्चित भएको हो । राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजनाअन्तर्गत २२० केभी क्षमताको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानासम्मको सवस्टेसनको उदघाटनका लागि प्रधानमन्त्री ओली पर्वत आउने कार्यक्रम तय भएको प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले जानकारी दिनुभयो । उद्घाटनमा प्रधानमन्त्री ओलीसँगै उर्जा मन्त्री टोपबहादुर रायमाझी समेत आउने प्रजिअ रेग्मीले जानकारी दिनुभयो । अन्य व्यवस्थापन आयोजनालेनै गर्ने भएकाले प्रधानमन्त्रीको सुरक्षाको सम्पुणर् तयारी भएको प्रजिअ रेग्मीले बताउनुभयो ।
सवस्टेशन र खुर्कोट- दाना खण्डको प्रशारण लाइन निर्माणको सबै काम सम्पन्न भएपछि परीक्षण समेत सफल भैसकेको छ । निर्माणको सवै काम सकिएर परिक्षण समेत सफल भएपछि उद्घाटन गर्न लागिएको आयोजनाका सहायक निर्देशक महादेव भट्टराईको जानकारी दिनुभयो ।
म्याग्दीको दाना र पर्वतको खुर्कोटमा दुई सब-स्टेशन तथा त्यसबीचमा ११० वटा टावर निर्माण गरी ३९ दशमलव ६ किलोमिटर लामो तार टाँगिएको छ । एसियाली विकास बैंकको रु.३ अर्ब रुपैयाँ ऋण सहयोग तथा नेपाल सरकारको झण्डै रु.८० करोड रुपैयाँको लागतमा खुर्कोट-दाना खण्डमा प्रसारण लाइनको काम सम्पन्न भएको आयोजनाका सहायक निर्देशक भट्टराईको भनाइ छ ।
कालीगण्डकी प्रसारण करिडोर आयोजना निर्माणका लागि जेभी अफ टाटा प्रोजेक्ट एण्ड चिन्ट इलेक्ट्रिक कम्पनीले निर्माणको जिम्मा पाएको हो । आर्थिक वर्ष २०७१/०७२ मा निर्माण सम्झौता भइ आव २०७५/०७६ मा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भए पनि आयोजना सम्पन्न गर्न ढिलाइ भएको थियो ।
निर्माणका क्रममा विभिन्न ठाउँमा बाढी पहिरो, टावर ठड्याउने तथा तार तान्ने ठाउँमा स्थानीयको अवरोध, मुआब्जा वितरणमा समस्या र पछिल्लो समय विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसले गएको चैत ११ गतेदेखि गरिएको लकडाउनले तोकिएको समयमै आयोजना सम्पन्न हुन ढिलाइ भएको थियो ।
परिक्षण सफल भएकाले आयोजनामार्फत बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान गरिने तयारी समेत सुरु भएको छ । उक्त लाईनमा साविक धौलागिरिका सवै जलविद्युत आयोजनावाट उत्पादित विद्युत जडान गरिने भएको छ ।