
पर्वत- उत्तरी पर्वतको जलजला गाउँपालिका वडा नं. ५ फलामेडाडामा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ ।
वडा स्तरको स्वास्थ्य चौकीबाट सेवा लिन अपायक पर्ने दुर्गम बस्तीका बासिन्दालाई आधारभूत स्वास्थ्य सेवाको पहुँच बढाउन जलजला गाउँपालिकाले इकाई स्थापना गरेको हो ।
फलामेडाडामा स्वर्गीय बहुमति पुनको स्मृतिमा उहाँका परिवारले निर्माण गरेको खोप केन्द्रको भवनमा स्थापना भएको इकाइको बुधबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले उद्घाटन गर्नुभयो । सो अवसरमा शर्माले आधाभूत स्वास्थ्य सेवावाट कोहिपनि नागरिक बञ्चित हुन नपरोस भनेर यस्तो खालका स्वास्थ्य इकाई स्थापना गर्न थालिएको बताउनुभयो । उहाँले स्थानीहरुलाई उक्त संस्थावाट सेवा लिन समेत आग्रह गर्नुभयो ।
सो इकाईबाट साबिक लेकफाँट गाबिसको ४ वटा वडामा पर्ने कुवापानी, लोप्रे, डाडाकटेरी, बनबढेका करिब दुई सय घरधुरी लाभान्वित भएका स्थानीय पुर्ख पुर्जाले बताउनुभयो ।
यहाँका बासिन्दाहरुलाई गिद्धेश्वरमा रहेका स्वास्थ्य चौकीमा पुग्न र फर्कन दुई घण्टा भन्दा बढी समय लाग्ने गरेको थियो ।
एक जना अहेवको दरबन्दी भएको इकाईबाट स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी बितरणको सुबिधा दिइने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजु बोहोराले जानकारी दिनुभयो ।