पर्वत – पर्वतका क्रियाशिल पत्रकार स्वर्गिय महेन्द्र केसीकोे १३ औँ दिनको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । स्वर्गिय केसीका परिवारले मोदी गाउँपालिका–५ बाजुङमा अवस्थित सरस्वती माविमा १ लाख १ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।
उक्त रकमको व्याजबाट हरेक वर्ष विद्यालयमा अध्ययनरत गरिब तथा जेहन्दार विद्यार्थीलाई छात्रबृति प्रदान गर्ने उद्देश्य रहेको केसीकी श्रीमती शिला पाण्डेले जानकारी दिनुभयो । स्वर्गिय केसी महेन्द्रदय माविमा अध्ययन गरेको हुँदा विद्यालयको शैक्षिक उन्नयनका लागि श्रीमान केसीको नाममा अक्षयकोषको स्थापना गरेको पाण्डेले बताउनु भयो ।
अक्षय कोषबाट प्राप्त हुने ब्याजबाट विद्यार्थीहरू छनोट गरी जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ । त्यस्तै सोही विद्यालयलाई केसी परिवारले जग्गा किन्नको लागि ५१ हजार प्रदान गरेको छ । विद्यालयमा भौतिक संरचना निर्माण गर्नका लागि रकम अभाव भएका कारण रकम प्रदान गरिएको परिवारले जनाएको छ । पर्वतको मोदी गाउँपालिका–५ बाजुङ निवासी केसी विगत छ बर्षदेखी पत्रकारिता गदै आउनु थियो । निडर र स्वच्छ छवि भएका केसीको कोरोनाका कारण पौष २ गते ३० बर्षको उमेरमा मृत्यु भएको थियो ।