पर्वत- पर्वतको महाशीला गाउँपालिकामा १५ शैयाको आधारभुत अस्पताल शिलन्यास गरिएको छ ।
सरकारको एक पालिका एक अस्पताल कार्यक्रम अन्तर्गत महाशिलामा १५ शैयाको अस्पताल शिलन्यास गरिएको हो । सदरमुकाम पछि सवैभन्दा धेरै क्षमताको अस्पताल महाशीलामा बन्ने भएको हो । महाशीला गाउँपालिका वडा नं. वडा नं. ५ लुंखुदेउराली स्थित भोर्लेडाँडामा सोमवार महाशीला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले भवनको शिलन्यास गर्नुभएको हो ।
अस्पतालको शिलन्यास गर्दै अध्यक्ष पौडेलले अब कोहिपनि नागरिक उपचार नपाएर मर्नुपर्ने अवस्था नआउने बताउनुभयो । सरकारले तल्लो तहका नागरिकसम्म स्वास्थ्यको पुहँच पुर्याउने गरी हरेक स्थानीय तहमा अस्पताल स्थापना गर्न लागेको बताउँदै उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो ।
सरकारले अहिलेसम्म अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल बनाउन लागेको बताउँदै पौडेलले अब कोहि पनि नागरिक आधारभूति स्वास्थ्य सेवावाट बञ्चित हुनु नपर्ने बताउनुभयो । कोभिडको सन्त्रास फैलिएका बेला राज्यले स्वास्थ्यको क्षेत्रमा क्रान्ति गरेको बताउँदै अब बन्ने यस्ता अस्पतालहरुवाट नगारिकहरुले सर्वसुलभ रुपमा सेवा पाउने विश्वास उहाँको रहेको छ ।
अध्यक्ष पौडेलले शिलन्यास पछि अस्पताल निर्माण कार्य समयमै सम्पन्न गर्नका लागि गाउँपालिकाले निरन्तर सहजीकरण गर्ने बताउनुभयो । अहिलेसम्म प्राथमिक स्वास्थ्य केन्द्रको भरमा उपचार सेवा लिएका महाशीलाका नागरिकल यो अस्पताल बनेपछि साना तिना समस्या लिएर पोखरा काठमाण्डौ जानु नपर्ने बताउनुभयो ।
कार्यक्रममा महाशीला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धिराम उपाध्याय, वडा नं. ४ का अध्यक्ष पुणर्बहादुर मल्ल, नेकपाका नेता टिकु मल्ल ठकुरी, नेपाली काँग्रेसका नेता उज्जवल गुरुङ, राष्ट्रिय जनमोर्चाका कृष्णबहादुर क्षेत्री, महेन्द्रज्योती विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकबहादुर हमाल, टोल विकास संस्थाका तर्फवाट बलबहादुर हमालले बोल्नुभएको थियो । महाशीला गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ५ का अध्यक्ष जीवन विक्रम उच्चैको अध्यक्षतामा सम्पन्न कार्यमको स्वागत प्राथमिक स्वास्थ्य चौकीका प्रमुख डा. सुनिल पौडेल र संचालन महाशीला स्वास्थ्य संयोजक नरबहादुर बरालले गर्नुभएको थियो ।
१८ करोड ६८ लाखको लागतमा बन्ने उक्त अस्पताल आगामी दुई वर्ष भित्र सम्पन्न हुने भएको छ । यस वर्ष ३ करोड २३ लाख रुपैयाको काम हुने गाउँपालिकाका प्रवक्ता उच्चैले जानकारी दिनुभयो ।