पर्वतको कुश्माबजारमा आधुनिक बसपार्क र सिटी हल निर्माण प्रकृया शुरु - News site from Nepal

पर्वत – पर्वतको सदरमुकाम कुश्मामा आधुनिक बसपार्क निर्माण सहित सिटिहल निर्माणका लागि प्रक्रिया शुरु भएको छ ।
संघीय सरकारको शहरी विकास मन्त्रालयले कुश्मामा वसपार्क सहित सिटीहल निर्माणका लागि बजेट बिनियोजन गरेपछि निर्माणका लागि आवश्यक प्रक्रिया थालिएको हो । कुश्मा नगरपालिकाले उक्त कार्यका लागि डिपीआर तयार पारिसकेको छ ।
तत्कालका लागि प्रारम्भिक काम गर्न मन्त्रालयले रु.एक करोड बजेट पठाईसकेको कुश्मा नगरपालिकाले जनाएको । डिपीआर निर्माण पश्चात बहुवर्षे ठेक्काको प्रक्रिया शुरु हुने नगरपालिकाले जनाएको छ ।
अहिले रु.एक करोड रकमबाट जग्गा सम्माउने, पर्खाल निर्माण गर्ने, प्रारम्भिक चरणमा आवश्यक पर्ने निर्माण सामाग्री खरिद गर्ने लगायतका काम हुने कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । उहाँले कुश्मामा लामो समयदेखि चर्चामा आउँदै सेलाउँदै गरेको बसपार्क निर्माणको कामले अब भने गति लिएको बताउनुभएको छ ।
सरकारले बजेट पुस्तिकामा कुश्मामा बसपार्क निर्माण गरिने उल्लेख गरेको छ । कुश्मा नगरपालिकाले पनि आफ्नो नीति तथा कार्यक्रममा वसपार्क सहित सिटीहल निर्माणलाई प्राथमिकतामा राखेको छ । संघीय सरकार र स्थानीय सरकारको जोडबलले कुश्मामा बसपार्क र सिटीहल निर्माणको काम पुरा हुने नगरप्रमुख जोशीले बताउनुभयो ।
कुश्माबजार बिस्तार हुँदै गैरहेको, भित्री र वाहिरी चक्रपथ निर्माण भैरहेको, पर्यटकिय स्थलहरु थपिँदै गएकोले कुश्मा आधुनिक शहरको रुपमा विकास हुन थालेको जोशीले बताउनुभयो । आफुहरुको कार्याकालमै बसपार्क निर्माणको उद्घाटन हुने र वहुवर्षे ठेक्का मार्फत काम निरन्तर अगाडी बढिरहने जोशीले बताउनुभयो ।
शहरी विकास कार्यालय बागलुङलाई कुश्मा नगरपालिकाले प्रारम्भिक चरणमा गर्नुपर्ने कामको सूचि तयार पारेर दिने तयारी गरेको छ । त्यसका लागि स्थलगत अनुगमन गरि प्राविधिकहरुले प्रतिबेदन तयार गर्न थालेको जोशीले बताउनुभयो ।
कुश्मा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष रुद्र गिरीले वसपार्क निर्माणका लागि यसअघि पनि धेरै पटक पहल भएपनि सबै पहल खेर गएको स्मरण गर्दै अब भने वसपार्क निर्माणको काम बिचमै नरोकिने दाबी गर्नुभयो ।
उहाँले आवश्यक प्रक्रिया अगाडी बढेको भन्दै अर्को वर्ष देखि धमाधम काम हुने भएकाले कुश्माबासीहरुलाई वसपार्कको सपना पुरा हुने विश्वास दिलाउनुभयो ।
वसपार्क तीन तल्लाको निर्माण हुने गरि डिपिआर तयार भएको छ । भुईतल्लामा ठूला बस, पहिलो तलामा सभाहल, दोस्रो तलामा साना सवारी पार्किङ गरिने र तेस्रो तलामा १५० जना भन्दा बढि मानिस अट्ने हल निर्माण गरिने भएको छ । सबै काम सम्पन्न गर्न करिव एक रु.अर्ब बजेट लाग्ने गरी डिपिआर तयार गरिएको प्रमुख प्रशासकिय अधिकृत हरि पंगिनीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!