जिल्ला समन्वय समिति पर्वतको चौथो जिल्ला सभा सम्पन्न, सातै तहलाई ४० लाखको दरले बिनीयोजन - News site from Nepal

पर्वत- जिल्ला समन्वय समिति पर्वतको चौथो जिल्ला सभा शुक्रवार सम्पन्न भएको छ ।
विभिन्न बाह्र बुँदे निणर्य गर्दै जिल्ला सभा सम्पन्न भएको हो । सभाले चालु आर्थिक वर्षका लागि संघ र प्रदेश सरकार र अन्य श्रोतवाट प्राप्त हुने बजेट तथा कार्यक्रम प्राथमिकिकरण र बर्गिकरण गरी कार्यान्वयन गर्न जिल्ला समन्वय समितिलाई अधिकार प्रदान गर्ने निणर्य गरेको छ ।
यसैगरी विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण जिल्लामा न्यूनिकरणका लागि संघ र प्रदेशवाट जारी भएका आदेशहरुको कार्यान्वयमा सहयोग पुर्‍याउने, अस्पतालहरुको स्तरबृद्धि, क्षमता बृद्धिका लागि सहजीकरण गर्ने निणर्य गरेको छ ।
त्यसैगरी स्थानीय तहवाट भैरहेका विकास निर्माणका आयोजना तथा राष्ट्रिय गौरबका आयोजनाहरुलाई समयमै सम्पन्न गराउनका लागि समन्वय गर्ने, स्थानीय पूर्वाधार विकास कार्यक्रम प्रदेश सरकारको पनि संघीय सरकारकै कार्यविधि अनुसार परिमार्जन गर्ने प्रदेश सरकारलाई अनुरोध गर्ने निणर्य समेत सभाले गरेको छ ।
त्यसैगरी जिल्ला समन्वय समितिलाई संविधान ऐन, कानून र निर्देशिका बमोजिम प्राप्त अधिकार भित्र रहि विकास निर्माणको योजना स्थानीय पूर्वाधार विकास कार्यक्रम साझेदारीका विकास योजनाहरुलाई प्रभावकारी अनुगमन र मूल्यांकन कार्यलाई निरन्तरता दिने निणर्य समेत गरिएको छ ।
सभाले जिल्ला समन्वय समितिको मौज्दात कोषमा रहेको ५ करोड ६१ लाख ६८ हजार ५ सय रुपैया मध्ये २ करोड ६१ लाख ६८ हजार ५ सय रुपैया जिल्ला समन्वय समितिको भवन निर्माणका लागि खर्च गरिने र बाँकी रहेको रकम सातवटै पालिकालाई ४० लाख रुपैयाका दरले बिनीयोजन गर्ने निणर्य समेत सभाले गरेको छ ।
त्यसैगरी जिल्लामा विद्युत र खानेपानी नपुगेको ठाउँमा सर्वसुलभ रुपमा उक्त सेवा पुर्‍याउन स्थानीय तहहरुमा आवश्यक पहल, समन्वय र सहजकिगर्ने गरिने, सवै पालिकाहरुले विभेद रहित सभ्य समाज निर्माण गर्न आपसमा समन्वय र सहजीकरण गर्ने निणर्य समेत सभाले गरेको हो ।
त्यसैगरी ढुंगा, गिट्टी बालुवा उत्खनन् विक्रि र व्यवस्थापन सम्वन्धि कार्य गर्दा वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लेख भएका शर्त ठेक्का, अनुगमन समितिले दिएका निर्देशनहरु समेत स्थानीय तहले पालना गर्ने निणर्य समेत गरिएको जिल्ला समन्वय अधिकारी सुरेश ढकालले जानकारी दिनुभयो ।
जिल्ला सभाको प्रतिनिधि सभाका सांसद पदम गिरीले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा सांसद गिरीले जिल्लाको समग्र विकासका लागि तीन तहका जनप्रतिनिधिहरु एकजुट हुनुको विकल्प नरहेको बताउनुभयो । चालु आर्थिक वर्षमा पनि जिल्लामा संचालित विकास निर्माणका योजनाहरुमा थुप्रै बजेट बिनीयोजन भएको बताउँदै त्यसको प्रभावकारी कार्यान्वयनका लागि सवैले पहल गर्नुपर्ने उहाँको भनाई रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!