पर्वतको वाँसखर्कमा शितभण्डार निर्माण, सुन्तला उत्पादक कृषक उत्साहित - News site from Nepal
पर्वत-  जलजला गाउपालिका–१ बासखर्कको बजारमारेमा सुन्तला शित भण्डारण् गृह निर्माण भएको छ ।

बेमौसममा बजारमा सुन्तला बिक्री गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारको सहयोगमा बजारमारे सुन्तला उत्पादन सहकारी संस्थाले ७८ लाख रुपैयाको लगानीमा शित भण्डार बनाएको हो ।

भवनको शुक्रबार संबिधानसभाका सदस्य तथा नेपाली काग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले उद्घाटन गर्नुभयो । जोशीले गाउलाई बस्न योग्य बनाउन रोजगारि र आम्दानीको अवसर सिर्जना गराउनुपर्ने बताउनुभयो ।

सडक, सिचाई, खानेपानी, विद्युत, गुणस्तरीय शिक्षा र स्वास्थ्यको उपलब्धतासंगै गाउमै आम्दानीको स्रोत बनाउने वातावरण भएमा मात्र बसाईसराई रोक्न सकिने उहाको भनाई थियो । उहाँले बासखर्क र मल्लाजमा सिचाई सुबिधा भएपछि सुन्तला खेति विस्तारले तिब्रता पाएको बताउनुभयो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव अमृतप्रसाद ढकालले कृषकको आम्दानी वृद्धिको लागि सुन्तलाको उत्पादनलाई बिबिधिकरणमा जोड दिएको बताउनुभयो । बासखर्कमा अर्को शितभण्डार गृह बनाउन र सुन्तला खेति विस्तारमा प्रदेश सरकारले सघाउने बताउनुभयो ।

जलजला गाउपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले बासखर्क जोड्ने सडकलाई स्तरोन्नति गर्ने र नियमित विद्युत आपुर्तिको व्यवस्था मिलाएर शितभण्डार गृह सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, वडा अध्यक्ष तुलसीराम रेग्मी, नेपाली काग्रेसका जिल्ला सदस्य डाक्टर चुडामणी शर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो । ७८ लाख ७१ हजार २४० रुपैयाको लागतमा निर्माण भएको शितभण्डार गृहमा १६ मेट्रिक्टन सुन्तला भण्डारण गर्न सकिने सहकारीका कोषाध्यक्ष रेवती खत्रीले बताउनुभयो ।

शितभण्डार गृह बनाउन कृषि ज्ञान केन्द्र पर्वतले ४८ लाख ६२ हजार, वडा कार्यालयको प्रस्तावमा गाउपालिकाले एक लाख पन्ध्र हजार, सहकारीको आठ लाख ५९ हजार ३४०, सदस्यहरुको पाँच लाख ३४ हजार ९०० रुपैयाँ लगानी भएको छ । पन्ध्र लाख रुपैयाँ बराबरको श्रमदान गरेका छन् ।

हाल असी रुपैया प्रतिकेजीका दरले बिक्री भइरहेको सुन्तला भण्डारण गरेर तीन महिनापछि १२० रुपैया प्रतिकिलोग्रामका दरले बिक्री गर्न सकिने कृषक नरबहादुर खत्रीले बताउनुभयो । नियन्त्रित चिसो तापक्रममा भण्डारण गर्न सकिने भएको छ । सिजनमा मूल्य र बजार नपाउने समस्या छ । बेसिजनमा सहज रुपमा बजार र उचित मूल्य पाइने कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले बताउनुभयो ।

शितभण्डार गृह सञ्चालनका लागि चौबिसै घण्टा नियमित विद्युत आवश्यक पर्ने भएकाले जेनेरेटरको लागि गाउपालिकामा अनुरोध गरिएको सहकारीका अध्यक्ष जगतबहादुर खत्रीले बताउनुभयो ।

यसपालि परिक्षणका लागि सुन्तला भण्डारण गर्ने र अर्को वर्षदेखि पुरै क्षमतामा भण्डारण गर्ने उहाँले बताउनुभयो । सहकारीका सचिव ख्यामबहादुर खत्रीले बासखर्कमा १६० घरधुरीले ८४ हेक्टर क्षेत्रफलमा व्यवसायिक सुन्तला खेति भएको बताउनुभयो ।

यस वर्ष दुई करोड पचास लाख रुपैयाँ मूल्य बराबरको सुन्तला उत्पादन भएको उहाले बताउनुभयो । सुन्तला बगैचा व्यवस्थापन, सिचाई, शितभण्डारमा नियमित विद्युत आपुर्ति र महशुलमा छुट र सडक स्तरोन्नतिका लागि कृषकहरुले माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!