नेकपा ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा, गृहमन्त्री थापा पनि सहभागी - News site from Nepal

काठमाडौँ- नेकपा ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरू भएको छ ।
प्रतिनिधिसभा विघटनपछि ओली समूहको आज दोस्रो केन्द्रीय कमिटी बैठक बसेको हो । बैठकमा पूर्वमाओवादी समूहमा रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सहभागी भएको केन्द्रीय सदस्य मेघनाथ सुवेदीले जानकारी दिए ।


आजको बैठकले सचिवालय सदस्यहरूको संख्या थप्ने, चुनावी तयारी तथा अर्को समूहले सरकारलाई पारेको अप्ठेरोको भण्डाफोर गर्न गाउँतहस्म कार्यकर्ता खटाउने विषयमा अध्यक्ष ओलीले निर्देशन दिने तयारी गरेको अर्का एक सदस्यले जानकारी दिए ।

अल्पमतमा परेको ओली समूहको गत मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले ५५६ जना केन्द्रीय सदस्य थप्दै ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेको थियो ।

एकीकरणको ३२ महिनापछि नेकपा अन्ततः विभाजनमा गएको छ । तर, यसलाई औपचारिक घोषणा गरिएको छैन ।

गत फागुनमा बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने पार्टी निर्णयलाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले चुनौती दिएपछि सुरू भएको नेकपाको संकट अन्ततः फुटको औपचारिक तहमा पुगेको छ ।

ओली पक्षले सम्झौतामा संकट टार्ने र दाहाल-नेपाल पक्षले ओलीलाई पदच्युत गर्ने परस्पर दाउकाबीच पछिल्ला १० महिना गुज्रिए पनि नेकपामा विभाजन अब अवस्यम्भावी भएको छ ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिएर पार्टी विवाद साम्य पार्न तयार रहेको सन्देश दिएको दुई दिनमै ओलीले गत आइतबार (पुस ५ मा ) प्रतिनिधिसभा विघटन गराएपछि नेकपा विभाजनको औपचारिक प्रक्रियामा प्रवेश गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!