अबको ५५ दिनमा कोरोना संक्रमितको संख्या ४० हजार पुग्ने सरकारी आकलन - News site from Nepal

काठमाडौं – नेपालमा आगामी २ भदौसम्म कोरोना भाइरस संक्रमितको संख्या ४० हजार पुग्ने आकलन गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको अवस्थालाई सूक्ष्म अनुसन्धान गर्दै सो आँकलन गरेको खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

लकडाउन खुकुलो हुँदै जानु, सिमानाका जोडिएको देश भारतबाट आउने क्रम बढ्नु, संक्रमितको सम्पर्कमा आएकाको ट्रेसिङ सुस्त गतिमा हुनुलगायतका कारणले संक्रमणको जोखिम बढेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् । अहिले दैनिक झन्डै ३ हजार जनाभन्दा बढी व्यक्ति भारतबाट नेपाल प्रवेश गर्ने गरेका छन्।
संक्रमितको संख्या बढ्दै गए ४० हजारमध्ये २ हजार जना गम्भीर प्रकृतिका हुन सक्ने आँकलन गरिएको छ । त्यसैलाई आधार मानेर स्वास्थ्य पूर्वाधारहरुको तयारीमा स्वास्थ्य मन्त्रालय जुटेको छ।

हाल देशभर १ हजार भेन्टिलेटर, १ हजार ८ सय आईसीयू बेड स्थापना गरिएका छन् । स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा.गुणराज लोहनीका अनुसार निजी अस्पताल, मेडिकल कलेजसँग बेड संख्या र लागत खर्चका बारेमा विवरण माग गरिएको छ । लागत खर्च सरकारले बेहोर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी छ।

यस्तै, आगामी १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गर्ने गरी सरकारले योजना बनाएको छ । हाल दैनिक ६ हजार जनाको दैनिक पीसीआर परीक्षण गरिरहेको र निजी क्षेत्रबाट दैनिक ३ हजार जना बढीको परीक्षण गरिनेछ । विदेशबाट आएकाहरुको संख्या दिन प्रतिदिन बढेकाले स्वाबका नमुनाहरु होल्ड भएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!