
पर्वत – धौलागिरीका स्थानीय तहमै पहिलोपटक जलजला गाउँपालिकामा भू-सेवा केन्द्र स्थापना भएको छ। स्थानीय तहबाट जनतालाई लिखित पारित,अंशवण्डा,राजिनामा, नामसारी लगायत जग्गा प्रशासन सम्ब्न्धि कामका लागि मालपोत कार्यालयमा पेश गर्नुपर्ने निवेदन र लिखत गाउँपालिकाबाट उपलब्ध हुने गरी सेवा केन्द्र स्थापनाको शुभारम्भ गरिएको छ ।
कार्यक्रममा भू-सेवा केन्द्रको उद्घटन गर्दै गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले सदरमुकाम कुस्मामा रहेका कार्यालयबाट प्रदान हुने सेवाहरु विस्तारै गाउँपालिकाबाटै जनतालाई उपलब्ध गराउन लागिपरेको बताए ।
कार्यालय स्थापना भएपछि मालपोत कार्यालयमा व्यक्ति तथा कानुन व्यवसायीमार्फत हुने भू-सेवाको काम स्थानीयतहबाटै हुने भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए । उनले केन्द्रवाट उपलब्ध गराइने सेवासुविधाका बारेमा वडा कार्यालयमा समेत आवश्यक कागजपत्र सहित विवरण जनप्रतिनिधिमार्फत जानकारी लिन सकिने बताए ।
प्राविधिक सामाग्री सहित जनशक्तीको ब्यवस्थापन गरी भू-सेवा केन्द्रबाट हुने सेवाका बारेमा समुदायस्तरमा समेत प्रचारप्रसार गरिने बताए। अनलाईनमा भएको फारम भरेर प्रिन्ट गरी प्रमाणिकरणका लागि मालपोत कार्यालयमा निवेदन र लिखत पठाउँदा सेवा प्रवाह सहज हुने प्रमुख प्रशासकीय अधिकृत शर्माको भनाई छ। गाउँपालिकामा सेवा सुरु हुनु अगाडी कर्मचारीहरुलाई भू-सेवाले गर्ने काम गराउनको लागि तालिम समेत दिइएको थियो । भू-सेवा केन्द्रले स्मार्ट मालपोतको अभ्यास हुने गाउँपालिकाले जनाएको छ ।