अब १५ दिनलाई पुग्ने मात्र मेडिकल सामग्री मौज्दात, संक्रमण भने बढ्दो - News site from Nepal

काठमाडौं –  देशभर आठ हजार ६ सय पाँचजनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या बढेसँगै मेडिकल सामग्रीको मौज्दात भने कम हुँदै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि चाहिने मेडिकल सामग्री बढीमा १५ दिनलाई पुग्ने मौज्दात रहेको जनाएको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले विभिन्न दाताहरूले पठाएका थप सामग्री एक–दुई दिनभित्रै आउने क्रममा रहेकाले मौज्दात बढ्ने जानकारी दिए । शनिबार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य पत्रकारहरूसँगको छलफलमा महानिर्देशक सिंहले हालको परीक्षण अनुपातमा किटहरू १५ देखि २१ दिनसम्म पुग्ने मौज्दात विभागमा रहेको बताए ।

उनका अनुसार स्वाब संकलन गर्ने भिटिएम ७५ हजार एक सय ४६ रहेको छ । कोरोना परीक्षणका लागि अति महत्वपूर्ण मानिएको आरएनए एक्स्ट्राक्सन किट ९३ हजार चार सय ४६ र पिसिआर रिएजेन्ट एक लाख २५ हजार छ । भिटिएम १५ दिन, एक्स्ट्राक्सन किट १९ दिन र पिसिआर रिएजेन्ट २१ दिनलाई पुग्ने मौज्दात छ ।

महानिर्देशक सिंहले असार मसान्तसम्म थप ३० हजार संक्रमित देखिन सक्ने प्रक्षेपणका आधारमा काम अघि बढेको बताए । मन्त्रालयले थप ३० हजार केसका लागि आवश्यक पिपिई भएको बताएको छ ।

‘फ्रन्टलाइनमा रहेका कर्मचारीका लागि यस अवधिमा चाहिने एन–९५ मास्क दुई लाख २८ हजार चार सय र सर्जिकल मास्क ३३ लाख ९६ हजार चार सय २४ रहेको छ । आइसियूका लागि चाहिने औषधि खरिद प्रक्रियामा छ,’ उनले भने ।

दुई दिनयता नयाँ कोरोना संक्रमितको संख्या घटेको छ । शुक्रबार चार सय २६ जना संक्रमित पुष्टि भएकोमा शनिबार तीन सय ३१ जनामा संक्रमण देखिएको छ । बिहीबार सर्वाधिक ६ सय ७१ जनामा संक्रमण पुष्टि भएको थियो ।

शनिबार हालसम्मकै सबैभन्दा धेरै सात हजार चार सय १६ नमुना परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । उनका अनुसार डिस्चार्ज हुनेको संख्या १५ सय ७८ पुगेको छ । कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ । हाल एक लाख दुई हजार दुई सय ४५ मानिस क्वारेन्टाइनमा रहेका छन् ।
परीक्षण दायरा बढाउन तीनवटा पिसिआर मेसिन किन्ने तयारी

सरकारले कोरोना परीक्षण दायरा बढाउन तीन वटा अटोमेटिक मेसिन किन्ने तयारी गरेको छ । हाल सञ्चालनमा रहेका २१ कोभिड प्रयोगशालाले आवश्यकताअनुसार परीक्षण गर्न नसकेपछि स्वास्थ्य मन्त्रालयले थप तीन ठूला पिसिआर मेसिन खरिद गर्न लागेको हो ।

दैनिक पाँच हजारसम्म परीक्षण गर्न सक्ने अटोमेटिक पिसिआर मेसिन किन्न लागेको हो । हाल देशभरका प्रयोगशालामा दैनिक २० हजार बढी नमुना होल्ड भएका छन् । जसकारण संकलन भएको नमुनाको रिपोर्ट एक हप्ताभन्दा ढिलो आउने गरेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी प्रमुख डा.रुणा झाले नमुना धेरै संकलन भएकाले होल्ड हुन पुगेको बताइन् । उनले महामारीको समयमा विश्वमा जहाँ पनि नमुना थुप्रिने दाबी गरिन् । ‘सुरुमा हामीले ७२ घन्टामा सबै रिपोर्ट दिँदै आएका थियौँ, अहिले एक हप्ता लागेको छ,’ उनले भनिन् ।
१५ असारदेखि दैनिक १० हजार परीक्षण गर्ने

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले १५ असारदेखि दैनिक १० हजार पिसिआर परीक्षण गर्ने जानकारी दिए । सरकारी प्रयोगशालाले दैनिक सात हजार र तीन हजार निजी प्रयोगशालाले परीक्षण गर्ने उनको भनाइ छ ।
संक्रमितको संख्या बढ्दै जाने अनुमानका आधारमा लक्षणविहीनलाई घरमा राख्ने योजना सरकारले अघि सारेको बताए । ‘निर्देशिकाअनुसार स्वाब संकलन गर्दा परीक्षणमा समस्या आएको छ,’ उनले भने ।

दैनिक एक सय नमुना परीक्षण गर्ने ल्याबमा एकै दिन पाँच हजारसम्म नमुना संकलन भएकाले रिपोर्ट आउन ढिलाइ भएको उनले बताए । स्वास्थ्य संकटकाल लगाउने विषयमा कुनै निर्णय नभएको मन्त्री ढकालले स्पष्ट पारे । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!