पर्वत- जिल्लाको विहादी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले गत आर्थिक बर्षको प्रगति समिक्षा तथा चालु बर्षको पहिलो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
गाउँपालिकाको वडा न ४ बहाकीमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले गाउँपालिकाबाट प्रवाह भएका सेवाहरुको विषयमा जिज्ञासा र सुझाब राखेका थिए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कमल भुषालले सुझाबहरुलाई ग्रहण गर्दै अघि बढ्ने प्रबिद्धता ब्यक्त गरेका छन् । उनले सहभागीहरुबाट उठेका जिज्ञासा र सुझाबको उत्तर दिदै गाउँपालिकाले सवैको सुझाब कै आधारमा प्रत्येक बर्ष आफ्ना नीति तथा कार्यक्रमहरु ल्याउने गरेको बताए ।
जनप्रतिनिधि नयाँ हौ भनेर जनताका भावनासंग भाग्न नहुने भन्दै सवै पटक नै जनप्रतिनिधि नयाँ नै आउने भएकाले जनताको भावना बमोजीम काम गर्नुपर्ने बताए । उनले गाउँपालिका भित्र पूर्वाधार निर्माणको काम तिव्र गतिमा भइरहेको उल्लेख गर्दै कृषि पशु र स्वास्थ्य क्षेत्रमा देखिने गरी परिर्वतनहरु भएको दावी गरे ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुब दयालले गत बर्षको र चालु बर्षको प्रथम चौमासिकमा भएका प्रगति विवरण प्रस्तुत गरेका थिए । सहभागीहरुबाट उठेका प्रश्नहरुको उत्तर दिदै दयालले कन्टेजेन्सी, संघ र प्रदेशबाट प्राप्त बजेटको सदुपयोगका विषयमा स्पष्ट पारेका थिए । उनले बार्षिक कार्यक्रम योजना तथा अनुगमनको विषयमा कर्मचारीहरुबाट इमान्दारीताका साथ काम गर्ने कुरामा कुनै सम्झौता नहुने समेत प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा सहभागीहरु मध्ये स्थानीय भुवन गुरुङ, गुणखर न्यौपाने, रेनुका पाठक, काशीनाथ काप्ले, अनिल मास्के, युवराज भुषाल, कुश्माखर भुषाल लगाएतले आफ्नो प्रश्न र सुझाब राखेका थिए । कार्यक्रममा राजनैतिक दलको तर्फबाट नेकपाका सन्तबहादुर गुरुङ र नेपाली कांग्रेसका प्रविण गुरुङले पनि जिज्ञासा राखेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा महालेखाको प्रतिवेदन, कन्टेजेन्सी रकमको खर्च प्रक्रिया, सवारी साधनको प्रयोग, खानेपानी तथा सडक आयोजनाहरुको प्रभावकारीता, कृषि, महिला शशक्तिकरण कार्यक्रम लगाएतका शीर्षकमा प्रश्न राखिएको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष डम्मरकुमारी गुरुङले कार्यक्रमको औचित्य माथि प्रकाश पारेकी थिइन भने कार्यक्रमको सहजीकरण पत्रकार गणेश गिरीले गरेका थिए ।