ओली रणनीति शक्ति सञ्चय - News site from Nepal
ओली रणनीति शक्ति सञ्चय

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक लामो समय रोकिँदा प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेताहरु शक्ति सञ्चयमा लागेका छन् ।
असार १० गते सुरु भएको स्थायी कमिटी बैठक असार १८ देखि लगातार स्थगित भएपछि सोही समयको उपयोग गर्दै ओली निकट नेताहरुले निरन्तर असन्तुष्ट नेताहरुसँग भेटघाट गरी विवाद मत्थर बनाउने प्रयास गरिरहेका छन् ।
ओली निकटका नेताहरु ईश्वर पोखरेल, सुवास नेम्बाङ, विष्णु पौडेल, विष्णु रिमाललगायतले दाहाल–नेपाल समूहका नेताहरुसँग निरन्तर छलफल गरिरहेका छन् । उनीहरु दाहाल–नेपाल समूहका नेताहरूसँग एक्ला एक्लै भेटघाट गरेर दूरी कम गराउन लागिरहेका छन् ।

दुई दिनअघि वानेश्वरस्थित एक घरमा महासचिव विष्णु पौडेलले नेपाल समूहका नेताहरुसँग छलफल गरेका थिए । ‘महासचिवलगायतका नेताहरुले समन्वय गरिरहनुभएको छ । उहाँहरुले विवाद घटाउने र शीर्ष नेताहरुको दूरी कम गराउने काम गरिरहनु भएको छ’, ओली निकट एक सदस्यले भने । उनका अनुसार पार्टी मिलाएर लैजानुपर्छ भन्ने अवस्थाबाट नै छलफल चलिरहेको छ ।
असार २६ बाट एकैचोटि साउन २ गतेलाई स्थायी कमिटी बैठक राखिएको छ । मुलुकमा बाढीपहिरोको कारण देखाएर नेकपाले पछिल्लो पटक असार २६ गते सात दिनका लागि बैठक स्थगित गरेको थियो ।

बैठक स्थगित गरेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल शनिबार बाढीपहिरो अवलोकन गर्न चितवन पुगेर सोमबार दिउँसो काठमाडौ फर्केका छन् । बैठक स्थगित भएपछि दुई अध्यक्षबीच कुराकानी भएको छैन ।

दाहालले शनिबार चितवन पुगेर आफूले हतार नगरेको, पार्टी एकता कायमै रहने र एकले अर्कालाई उकास्ने तत्वप्रति सचेत रहेको अभिव्यक्ति दिए भने ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै पार्टीभित्रको विवाद र सरकारको विषय फरक भएको सन्देश दिए ।

यी दुवै अभिव्यक्तिले पार्टीभित्रको आन्तरिक विवादलाई नेताहरु केही समय स्थगन गर्ने अवस्थामा पुगेको संकेत मिले पनि सरकार र पार्टीबीचमा उत्पन्न दरार कसरी कम गर्ने भन्नेबारेमा ओली निकट नेताहरुले असन्तुष्ट नेताहरूसँग छलफल गरिरहेको छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!